OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २१, २०७९काठमाडौं
६३१ पटक

२१ बैशाख २०७९, बुधबार

शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।

आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ । पहिलो चरणमै न्यून परीक्षार्थी उत्तीर्ण भएपछि केहीले परीक्षामा कडाइ भएको हुनाले यस्तो नतिजा आएको र अब विद्यालय तहमा क्षमतावान् शिक्षक आउँछन् भन्ने विश्लेषण गर्नुभएको छ । केहीले भने शिक्षण पेसाप्रति नागरिकको रुचि घट्दै गएको हो कि भन्ने अनुमान पनि गर्नुभएको छ ।

आयोगले यसै पटकदेखि परीक्षाको पाठ्यक्रमसमेत परिवर्तन गरेर पहिलो चरणको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने नीतिगत व्यवस्था गरेको हो । मुलुकभर माध्यमिक तहका लागि सबै विषयसहित एक हजार ५५२ जना कोटाका लागि आवेदन आह्वान गरेको थियो । परीक्षामा ३२ हजार ९७ जना सहभागी भएका थिए । जसमध्ये तीन हजार ८८८ जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको करिब १२ प्रतिशत मात्रै हो ।

सबैभन्दा थोरै परीक्षार्थी मधेस प्रदेशमा उत्तीर्ण भएका छन् । मधेस प्रदेशमा सबै विषयसहित दुई हजार १५ जना परीक्षार्थी सहभागी भएकोमा १२० जना मात्रै उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट एक हजार ४७३ जना सहभागी भएकोमा १९१ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश १ बाट आठ हजार ७१ जना सहभागी भएकोमा ९८८ जना मात्रै उत्तीर्ण हुनुभएको छ ।

आयोगका अध्यक्ष मधु रेग्मीले विश्वविद्यालयबाट गुणस्तरीय जनशक्ति उत्पादन हुन नसक्दा यस्तो नतिजा आएको हुन सक्ने बताउनुभयो । शिक्षा मन्त्रालयका पूर्वसचिवसमेत रहनुभएका रेग्मीले– “पहिलो कुरा त समाजमा शिक्षक बन्नु भनेको सजिलो पेसा हो भन्ने गलत बुझाइ छ । दोस्रो कुरा अहिले शिक्षक पेसामा प्रतिस्पर्धा गर्न चाहनेहरू बजारमा धेरै पहिले शिक्षण लाइसेन्स लिएकाहरू हुनुहुन्छ । समयअनुसार परिवर्तन हुन सक्नुभएन, जसको प्रभाव अहिलेको परीक्षामा प¥यो ।”

आयोगले २०७६ सालमा माध्यमिक तहको शिक्षण अनुमतिपत्र (लाइसेन्स)को परीक्षाको नतिजा सार्वजनिक गर्दा पनि पाँच प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । अहिलेको परीक्षामा सहभागीहरूमध्ये २०७६ सालअघि नै लाइसेन्स लिएर बसेकाहरूको सङ्ख्या ठूलो थियो । रेग्मीले भन्नुभयो, “धेरै वर्षअघि लाइसेन्स लिएर बसेकालाई अहिले मात्रै परीक्षामा बस्दा विषयगत रूपमा ज्ञानको अभाव हुनु स्वभाविक हो । त्यसको प्रभाव परीक्षाको नतिजामा प¥यो ।”

शिक्षाविद् प्राध्यापक डा. बालचन्द्र लुइँटेलले समाजमा पठन संस्कृतिको अभाव हुँदा शिक्षक पेसामा लाग्न चाहनेको नतिजा न्यून आएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा अहिलेको पुस्ताको सबैभन्दा ठूलो समस्या अध्ययन अनुसन्धानतर्फ रुचि नहुनु रहेको छ । यसको असर जताततै देखिन थालेको छ । यसमा सुधारको खाँचो छ ।”

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनको डिनसमेत रहनुभएका लुइँटेलले विश्वविद्यालयमा हुने पढाइको शैली र शिक्षक सेवा आयोगले सञ्चालन गर्ने परीक्षाको संरचनासमेत वैज्ञानिक नभएकाले पनि नतिजा न्यून आएको बताउनुभयो ।  साभार: गाेरखापत्रबाट

प्रतिकृया दिनुहोस्