OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १२, २०७८सुर्खेत
६६४ पटक

१२ चैत २०७८ शनिबार

नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले खानेपानी, सरसफाई र स्वच्छताको विषय देशैभरि पुर्याउने अभियान थालिएको बताउनुभएको छ ।

युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित तीनदिने ‘खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय’ घोषणासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनमा कार्यकारी निर्देशक देवकोटाले अभियान अगाडि बढेको जनाउनुभयो ।

सहरी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता अभियानलाई संस्थागत गर्ने हेतुले एकल अधिकार कार्यान्वयन गर्ने सवालमा नगरपालिकाहरुले जुन प्रकारको व्यवस्थापन गर्नुपर्ने हो त्यो व्यवस्थापन पूर्णरुपमा भइनसकेको अवस्थामा सहयोग पुर्याउन यो कार्यक्रम अगाडि बढाईएको उहाँले बताउनुभयो । यसलाई सुशासनसँग जोडेर नगरपालिकाबाट व्यवस्थित गर्ने पहल भइरहेको भन्दै उहाँले खानेपानी सरसफाईलाई प्राविधिक विषयका रुपमा लिईएको उहाले जनाउनुभयो ।

युनिसेफलगायतका साझेदार संस्थाहरुले गरेको सहयोगलाई अँझ बढी कसरी व्यवस्थित गर्ने र त्यसलाई नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रममा भित्रै राखेर जनतालाई दिने सेवाका हिसाबमा प्राथमिकता दिने हिसाबले सहजीकरण गरिएको हो । आफना करदातालाई खानेपानी र स्वच्छता सम्बन्धी प्रत्याभूति दिलाउन अहिले यो कार्यक्रम कर्णालीमा वीरेन्द्रनगरमा काम सम्पन्न गरिएको उहाँले जनाउनुभयो ।

“प्रशिक्षक प्रशिक्षणबाट नगरपालिकाका कर्मचारीलाई ज्ञान, सीप उपलब्ध हुन्छ,” उहाँले भन्नुभयो, “अब स्वच्छ पानी परीक्षण गर्ने कार्यक्रम रहेको छ । यद्यपि देशैभरि यो कार्यक्रम गर्न सकेनौ ।” हाल २५ नगरपालिकामा प्राथमिकता तोकेर काम भईरहेको जनाउँदै कार्यकारी निर्देशक देवकोटाले मुलुकका २९३ नगरपालिकाको साझा संगठन भएकोले सबै पालिकामा अभियान विस्तार गरेर लैजाने बताउनुभयो ।

अब विभिन्न संस्थाबाट सहरी क्षेत्रमा बस्नेहरुलाई अँझ बढी व्यवस्थित बनाउनुपर्ने जिम्मेवारी बढेकोले खानेपानी सरसफाई फोहोर मैला व्यवस्थापन गरी नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्ने उहाँको भनाई थियो । युनिसेफ नेपालका प्रतिनिधि राजेश सारु मगरले दिगो विकास लक्ष्य प्राप्त गर्न सुरक्षित खानेपानी पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पानीको प्रदुषणका कारणले पानीजन्य रोगहरु लाग्ने गरेकोले पानीको गुणस्तर अनुगमन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

नेपाल नगरपालिका महासंघका खानेपानी तथा सरसफाई व्यवस्थापक उमाशंकर यादवले खुला दिसामुक्त अवस्थाको दिगोपना, सुरक्षित खानेपानीयुक्त समुदाय, पूर्ण सरसफाइ र हात धुने बानीको विकासका लागि प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । पालिकाहरुको खानेपानी तथा सरसफाई (वास)को दिगोपनाका निम्ति यससँग सम्बन्धित नीति, ऐन, निर्देशिका र योजना निर्माणमा महासंघले प्राविधिक सहयोग गर्दै आइरहेको उहाँले जनाउनुभयो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सुदुरपश्चिम प्रदेशका दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका र त्रिवेणी तथा कर्णाली प्रदेशका खाडाचक्र, रास्कोट, छायाँनाथ रारा, चन्दननाथ र वीरेन्द्रनगर नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाई सम्पर्क व्यक्ति, स्वास्थ्य संयोजक, स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधिहरु गरी ३१ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्