OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ११, २०७८सुर्खेत
८४५ पटक

११ चैत २०७८, शुक्रबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय घोषणासम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका महासंघको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण शुरु भएको हो । प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सम्पर्क व्यक्ति रमेश सुवेदीले प्रदेश सरकारले खानेपानीको गुणस्तरलाई प्राथमिकतामा राखेर पानी परीक्षण प्रयोगशाला स्थापना गरेको बताउनुभयो ।

सम्पर्क व्यक्ति सुवेदीले भन्नुभयो, स्वच्छ एवं गुणस्तरयुक्त पानीका साथै खुला दिसामुक्त अवस्थाको दिगोपनाको लागि प्रयास भइरहेका छन् । यसका लागि प्रदेश सरकारले खानेपानी सुरक्षा योजनालाई पनि अगाडि सारेको छ । दिगो विकास लक्ष्य पुरा गर्नका लागि सबै सरोकारवालाहरुको साझा भूमिका आवश्यक भएको उहाँको भनाई थियो ।

नेपाल नगरपालिका महासंघका खानेपानी तथा सरसफाई व्यवस्थापक उमाशंकर यादवले खुला दिसामुक्त अवस्थाको दिगोपना, सुरक्षित खानेपानीयुक्त समुदाय, पूर्ण सरसफाइ र हात धुने बानीको विकासका लागि प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । पालिकाहरुको खानेपानी तथा सरसफाई (वास)को दिगोपनाका निम्ति यससँग सम्बन्धित नीति, ऐन, निर्देशिका र योजना निर्माणमा महासंघले प्राविधिक सहयोग गर्दै आइरहेको उहाँले जनाउनुभयो ।

यस्तै युनिसेफ नेपालका प्रतिनिधि राजेश सारु मगरले दिगो विकास लक्ष्य प्राप्त गर्न सुरक्षित खानेपानी पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पानीको प्रदुषणका कारणले पानीजन्य रोगहरु लाग्ने गरेकोले पानीको गुणस्तर अनुगमन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

प्रशिक्षणमा सुदुरपश्चिम प्रदेशका दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका र त्रिवेणी तथा कर्णाली प्रदेशका खाडाचक्र, रास्कोट, छायाँनाथ रारा, चन्दननाथ र वीरेन्द्रनगर नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाई सम्पर्क व्यक्ति, स्वास्थ्य संयोजक, स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधिहरु गरी ३१ जनाको सहभागिता रहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्