

७ चैत २०७८, सोमबार
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुलुकको विकास र समृद्धिका लागि कर्मचारी र पार्टीबीच अकाट्य सम्बन्ध हुनुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ कर्णाली प्रदेश समितिको ‘प्रथम बैठक’ उद्घाटन गर्दै योजनामन्त्री विष्टले कर्मचारीहरुको अवस्थामा नेतृत्वको चासो रहनुपर्ने बताउनुभयो । “हामी आ–आफ्नो भूमिकाको समीक्षा गरौं । नीति र विधिलाई पक्रेर अगाडि बढौं,” उहाँले भन्नुभयो, “अब पार्टी संगठन निर्माण व्यवस्थित हुने कार्य शुरु हुन्छ ।”
अरुले माओवादीका कर्मचारी भनेर चिन्ने तर माओवादी पार्टीले नै कर्मचारी हाम्रो भनेर नचिन्ने स्थितिमा हामी आफै जिम्मेवार रहेको समेत उहाँले औंल्याउनुभयो । अन्य पार्टीमा माथिबाट समस्या हल हुने तर माओवादी पार्टीमा तल्लो तहबाटै समस्या हल हुने सहजता भएकोले पार्टी संगठनका सुदृढीकरण र विस्तारमा कठिनाई नभएको उहाँको भनाई थियो ।
बैठकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति अध्यक्ष एवं पूर्व कृषिमन्त्री बिमला केसीले राष्ट्रिय राजनीति नै माओवादीको एजेण्डामा रहेको जिकिर गर्नुभयो । “माओवादीको नीति, विचार र एजेण्डामा सिंगो मुलुक हिडेको छ,” अध्यक्ष केसीले भन्नुभयो, “तर नेतृत्व माओवादीको नहुँदा मुलुक आज समस्यामा छ ।” कर्मचारी प्रशासनसम्बन्धी कस्तो नीति हुने भन्ने विषयमा आवश्यक छलफल हुन जरुरी रहेको उहाँको भनाई थियो ।
माओवादी आन्दोलनको उपलब्धिस्वरुप आएको समानुपातिक समावेशिताले अहिले मुलुकमा महिला, दलित, आदिवासी जनजाति, पिछडिएको, उत्पीडित जाति, क्षेत्र र लिङ्ग राज्यको मूल प्रवाहमा आउन सकेको उहाँले दावी गर्नुभयो । संगठनको नाममा बाठाहरुकै रजाई भएको टिप्पणी गर्दै उहाँले अरुले जे गर्छन् त्यही गर्ने शैलीले माओवादी फरक हुन नसक्ने बताउनुभयो । सरकारलाई सफल बनाउन र राज्यले अख्तियार गरेका नीति कार्यान्वयनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष केसीको भनाई थियो ।
केन्द्रका सचिव धनजीत शाहीले कर्मचारी र पार्टी संगठनबीचको सम्बन्ध जीवित रहने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उक्त बैठकमा महासंघका कर्णाली प्रदेश इञ्चार्ज कटकबहादुर महतले प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदन अनुसार इञ्चार्ज महत, संयोजक मिनबहादुर केसी र सहसंयोजक ललिता बोगटी रहने गरी विभिन्न क्षेत्रको प्रतिनिधित्व गरिएको २२ सदस्यीय कर्णाली प्रदेश सम्मेलन आयोजक समिति गरिएको छ ।
बैठकमा महासंघका सहसंयोजक मोहनमान स्वाँरले जनयुद्धको गर्भबाट जन्मेको माओवादी पार्टीले विस्तृत शान्ति सम्झौता पछि आफ्नो आकार लिएको बताउनुभयो । पार्टी र महासंघबीचको सम्बन्धलाई प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिँदै उहाँले उर्जाशील भएर अघि बढ्न कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।
त्यस्तै, अर्का सहसंयोजक मणिरत्न श्रेष्ठले देशको शासन व्यवस्थाको साँचो माओवादीसँग रहेको दावी गर्नुभयो । मुलुकको समाजवादी आन्दोलनलाई अगाडि बढाउन र देश निर्माणमा कर्मचारीको ठूलो भूमिका हुने उहाँको भनाई थियो । बैठकमा महासंघ अन्तरगत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने दश जिल्लाका अध्यक्ष तथा सदस्यहरुले आ–आफ्ना समस्या, जिज्ञास र प्रश्नहरु राखेका थिए ।
बैठकमा एक सय भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियात्मक ढंगबाट सञ्चालन भएको बैठकको सहजीकरण नेपाल राष्ट्रिय कर्मचारी महासंघ बैंक तथा वित्तिय संस्थाको केन्द्रीय सदस्य नेमबहादुर शाहीले गर्नुभएको थियो ।