OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ७, २०७८सुर्खेत
६३६ पटक

७ चैत २०७८, सोमबार

आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशमा सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि यहाँका १० जिल्लाका ७९ स्थानीय तहमा खटाउन सात हजार ७१३ प्रहरीको माग गरिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुमा आइतबारदेखि म्यादी प्रहरीको भर्ना शुरु गरिएको छ ।

निर्वाचनलाई शान्त, भयरहित र प्रभावकारी बनाउन मतदाताको संख्या, मतदानस्थल र भूगोल आधारमा जिल्लागत रुपमा म्यादी प्रहरीको जनशक्ति परिचालन गरिने सहप्रवक्ता बमले बताउनुभयो । जस अनुसार हुम्लामा ४१६, मुगुमा ४६९, डोल्पामा ५६८, जुम्लामा ७६८, कालीकोटमा ८०४ जना म्यादी प्रहरी परिचालन हुने उहाँले बताउनुभयो ।

त्यस्तै, रुकुमपश्चिममा ६७७, जाजरकोटमा ७८४, दैलेखमा ८९३, सल्यानमा एक हजार ९३ र सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरी परिचालन हुनेछन् । म्यादी प्रहरीमा भर्ना हुनेको उमेर १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड उल्लेख गरिएको र विशेषगरी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरेका पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने प्रवक्ता बले जनाउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साधारण लेखपढ गर्न जानेकाले म्यादी प्रहरीका लागि यही ११ गतेसम्म आवेदन भर्नेछन् । यही चैत १५ गतेबाट छनोट प्रक्रिया शुरु भई चैत २२ गते अन्तिम नतिजा निस्कने र २८ गतेबाट प्रशिक्षण शुरु हुनेछ । म्यादी प्रहरीको तलब रु.३० हजार २४०, खाद्यान्नवाफत सात हजार २००, पोशाक भत्ता र अन्य खर्च गरी रु.छ हजार र यातायात खर्चवापत् रु.एक हजार तोकिएको छ । उनीहरुका बीमा भने रु.२५ लाख हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्