OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २१, २०७८सुर्खेत
८०९ पटक

२१ फागुन २०७८, शनिबार

कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन २०७८ सञ्चालन गर्ने भएको छ । आगामी चैत २६ गते जुम्ला रारा अल्ट्रा आयोजना गर्न थालिएको हो । काठमाडौंमा पत्रकार भेटघाटमार्फत उक्त कार्यक्रम गर्न थालिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीका अनुसार जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दूरीमा म्याराथन हुनेछ। जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन उहाँले बताउनुभयो ।

क्लबका अध्यक्ष शाहीले म्याराथनमा सहभागी हुन् खेलाडीका लागि दर्ता खुला गरिएको जनाउनुभयो । उहाँले भन्नुभयो, यो पटक गरेर तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुँदैछ। विसं.२०७५ सालमा पहिलो म्याराथन आयोजना गरिएको थियो। विसं.२०७६ सालमा दोस्रो संस्करणको म्याराथन आयोजना भएपनि कोरोनाका कारण विसं. २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन।

एक वर्षको फरकमा जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको विश्व किर्तिमानी धावक हरीबहादुर रोकायाले बताउनुभयो । समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगेर सकिने आयोजकले जनाएको छ ।

धावक रोकायका अनुसार जुम्लादेखि दुई दिनको पैदल यात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन्। ‘यो म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कर्णाली भुमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान भइरहेको छ । यो कर्णाली चिनाउने एक राम्रो माध्यम भएको छ।

विगतका वर्षहरुको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३५० सम्म सहभागिता जनाउदै आएका थिए। यो पटक पनि खेलाडी संख्या बढ्न सक्ने आयोजकले आँकलन गरेको छ। उक्त खेल प्रतियोगितामा भाग लिएर विजेता हुने खेलाडीले रु.एक लाख भन्दा माथिको पुरस्कार प्राप्त गर्नेछन् । केही दिन पछि पुरस्कार राशी घोषणा हुने खेलकुद क्लवले जनाएको छ। यो पटक उत्कृष्ट १० खेलाडीलाई पुरस्कृत गरिनेछ। जुम्ला रारा अल्ट्रा म्याराथनमा रु.५० लाख बजेट लाग्न अनुमान गरिएको छ। म्याराथनमा सहभागी हुन विदेशी खेलाडीले रु.चार हजार ५०० र नेपाली खेलाडीले रु.एक हजार ६०० दर्ता शुल्क लाग्ने जनाइएको छ ।

दर्ता गर्न तिरेको रकमबाट रारातालको एक बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध हुने जनाउँदै अध्यक्ष शाहीले आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाउनुभएको छ । खेलकुद क्लबका संरक्षक धावक हरिबहादुर रोकायाले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाहरुको सहयोगको खाँचो रहेको भन्दै सडक मार्गका कारण पदमार्ग जोखिममा परेको र सो पदमार्गमा आयोजना गरिएको म्याराथन प्रतियोगिता समृद्धिको आधार हुन सक्ने जनाउनुभयो ।

कर्णालीलाई खेलकुद संभावनाको आधार बनाउन यतिबेलाको प्रतियोगिता एक कोसेढुंगा यो म्याराथन हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्