OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ८, २०७८सुर्खेत
५०४ पटक

८ फागुन २०७८, आइतबार

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधिन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिनुभएको छ ।

वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणधिन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधिन सडकको अनुगमनको क्रममा भौतिकमन्त्री रोकायले आज निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको हो । विसं.२०७६ असार ३१ मा सम्झौता भई रु.दुई करोड ३७ लाख बजेटमा निर्माण कार्य शुरु भएको नेवारे खोला पुल आयोजनाको उहाँले स्थलगत अनुगमन गर्नुभयो ।

उक्त पुल निर्माणको जिम्मा आशीश हाम्रो जेभी सुर्खेतले लिएको छ । विसं.२०७७ असार २० गते सम्पन्न गर्नुपर्ने उक्त आयोजनालाई बेला बेलामा ताकेता गरेपनि काम नसकेको र अहिले २०७८ चैत्र ३० गतेसम्म म्याद थपिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका इञ्जिनियर सूर्य शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको भौतिक प्रगति ८० प्रतिशत भएको छ । २५ मिटर स्पान भएको पुल बन्न ढिलाई भएपछि आवतजावत गर्न समस्या भएको स्थानीयले जनाएका छन् ।

त्यसैगरी, मन्त्री रोकायले रु.दुई करोड ७४ लाख बजेटमा निर्माण भइरहेको प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक आयोजनाको पनि स्थलगत अनुगमन गरेर तोकिएको समयमै काम गर्न निर्माण व्यवसायी मजदुर कन्स्टक्सन सुर्खेतलाई निर्देशन दिनुभएको थियो । निर्माणका लागि विसं.२०७६ पुस २० गते सम्झौता गरी विसं.२०७७ माघ १७ मा सम्पन्न गर्ने उक्त आयोजनाको काममा ढिलाई हुँदा विसं.२०७८ चैत्र मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर शाहीले बताउनुभयो ।

इञ्जिनियर शाहीका अनुसार प्रदेश सरकारअन्तरगत कालुञ्चोक–रत्न राजमार्ग, साहारा भाँडापसल–रातोपुल–एरिचोक सडक, रत्न राजमार्ग–हटलाइन र मसुरी खेतसम्को सडक निर्माण कार्य तीव्ररुपमा अघि बढिरहेको छ । भौतिक मन्त्री रोकायले प्रदेश सरकारअन्तरगतका सबै पूर्वाधार विकासका काम तोकिएको समयमै सम्पन्न गर्ने गरी सबैलाई पूर्ण जिम्मेवार हुनसमेत सुझाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्