OnlinePana

आज : २०८२ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १७, २०७८
५०१ पटक

१७ माघ २०७८, सोमबार

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको आज बस्ने भनिएको चौथो बैठक बस्न सकेन । दलहरुको बीचको सहमति नजुटेर बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगित भएको सूचना टाँस गरेको हो ।

बैठक आज दिउसो १ः०० बजे बोलाइएको थियो । माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा एमालेले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायतका माग गरेको थियो । यसमा विषयमा प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कानून बमोजिम समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर आज यस विषयमा तीन दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ । जसमा नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहनुभएको छ । प्रदेशसभा सचिवालयका अनुसार माघ १८ गते दिउसो १ः०० बजेका लागि बैठक बोलाइएको छ ।

 

प्रतिकृया दिनुहोस्