OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०७८सुर्खेत
५९१ पटक

८ माघ २०७८, शनिबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘तपाईको मास्क खोई ?’ अभियान शुभारम्भ गरिएको छ । उक्त अभियानको शुभारम्भ आज कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो ।

कोरोना महामारीको तेस्रो लहरको ओमिक्रोन भेरियन्ट तीव्ररुपमा बढ्दै गएपछि सुर्खेतमा पुनः अभियान शुरु गरिएको हो । जिल्ला सुरक्षा समितिको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सुर्खेत मंगलगढी चोकमा अभियान शुभारम्भ कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहीले कोरोना संक्रमणको जोखिम रोक्न अनिवार्य खोप र मास्क लगाउन स्थानीयलाई अनुरोध गर्नुभयो ।

कार्यक्रम शुभारम्भपश्चात् मुख्यमन्त्री शाहीले मंगलगढीदेखि गणेश चोकसम्म स्थानीयहरुलाई मास्क वितरण गर्दै सबैलाई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न सुझाउनुभयो । उहाँले बजारमा मास्क नलगाएका व्यक्तिलाई भेटेरै मास्क दिनुभयो भने खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सरकारी तथा सार्वजनिक स्थलहरुमा मास्कको प्रयोग हुन छोडेपछि संक्रमण बढ्दै गएकोले सुर्खेतमा ‘तपाईको मास्क खोई ?’ अभियान सुचारु गरिएको जानकारी दिनुभयो । प्रजिअ रिजालले मास्क लगाउन वेवास्ता गरिए कानून बमोजिम जरिवाना हुने बताउनुभयो । प्रशासनले सार्वजनिक सेवा प्राप्ति गर्न पूर्ण खोप कार्ड अनिवार्य हुनुपर्ने शुक्रबार जारी १९बुँदे आदेशमार्फत सूचना गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्