OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २५, २०७८सुर्खेत
२८९ पटक

२५ पुस २०७८, आइतबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोभिड–१९ को तेस्रो लहर रोकथामका लागि पूर्वतयारीमा जुट्न सरोकारवालाहरूलाई निर्देशन दिनुभएको छ ।

आज सुर्खेतको मेहलकुना तथा छिन्चुको संक्रमण रोग अस्पताल निर्माण हुने स्थलगत निरीक्षण गर्न त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले कोभिड–१९ को पूर्वतयारीमा लाग्न स्वास्थ्य तथा स्थानीय तहलाईसमेत निर्देशन दिनुभएको हो । उहाँले जनशक्ति व्यवस्थापनमा सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

“कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चुमा ५० बेडको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु हुन्छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “कोरोनाको संभावित तेस्रो लहरको सामना गर्नका लागि सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहनुपर्छ ।” तीनै तहका सरकारबीच सहकार्य र समन्वय गरेर संभावित महामारीलाई रोक्न पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।

उहाँले सुर्खेतसहित रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पामा अक्सिजन अभाव हुन नदिनका लागि मेहलकुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको जनाउनुभयो । कर्णालीमा अक्सिजन अभाव नहुने जनाउनुभएका उहाँले सुर्खेतसहित रूकुम, दैलेख, कालिकोटलगायतका जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएको जनाउनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली भित्रिने मुख्य नाकाहरुमा कोरोना परीक्षण गरेर मात्रै प्रदेशभित्र भित्र्याउँछौं । सर्खेतको कुईनेमा अस्पताल सञ्चालनमा छ । बबईबाट आउने कर्णालीबासीका लागि छिन्चुमा क्वारेन्टाइन बनाउँदैछौं र सल्यानको कपुरकोट नाकामा पनि आवश्यक तयारी थालिएको छ ।”

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले कर्णालीको आधा जनसंख्यालाई सेवा दिईरहेको मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र ओैषधिजन्य उपकरणले सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो । कोरोनाको तेस्रो लहरको सामना गर्न अहिलेदेखि तयारी थाल्नुपर्ने बताउँदै मेयर पुनले अस्पताल व्यवस्थापन समितिलाई पूर्णता दिन प्रदेश सरकारसँग माग गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्