

२३ पुस २०७८, शुक्रबार
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारहरुको अहम् भूमिका रहेको बताउनुभएको छ ।
तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंद्वारा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा आज आयोजित ‘क्रियाशील पत्रकारहरुका लागि आचारसंहिता तालिम’को उद्घाटन कार्यक्रममा बोल्दै कानूनमन्त्री जोशीले लोकतन्त्र र संघीय व्यवस्था ल्याउन पत्रकार सञ्चारकर्मीहरुको ठूलो योगदान रहेको बताउनुभयो । पछिल्लो समयमा सामाजिक सञ्जाल र पत्रकारिता एउटै जस्तो देखिने अवस्थाबाट माथि उठेर काम गर्न उहाँले पत्रकार सञ्चारकर्मीहरुलाई सुझाउनुभयो ।
“आचारसंहिता पालना गर्नु भनेकै मर्यादामा रहेर काम गर्ने हो । त्यो हामी सबैले बुझ्न पर्छ,” कानूनमन्त्री जोशीले भन्नुभयो, “विचारमा प्रष्ट भएर सेवा प्रवाह तटस्थ, निष्पक्ष हुन भयो भने प्रेस जगत्प्रति विश्वास बढ्दै जान्छ ।” फरक विचार राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएकोले कोही कसैलाई कसैले निषेध गर्न नहुने बताउँदै उहाँले मर्यादित पत्रकारितमा लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विज्ञहरुको तर्फबाट प्रशिक्षक यशोदा तिमल्सिनाले पत्रकारिता जगत्मा पनि महिला समानुपातिकता आवश्यक रहेको औंल्याउनुभयो । प्राकृतिक अंग महिला पुरुषबीच बाँड्न नसकिएपनि अवसर वितरणमा समानता कायम हुनुपर्ने भन्दै पछिल्लो समयमा महिलाहरु पनि हरेक काम गर्न सक्षम बन्दै गएको जिकिर गर्नुभयो । प्रशिक्षक तिमल्सिनाले पत्रकार आचारसंहिता तालिममा सहभागीहरुलाई सकेसम्म यथेष्ट जानकारी दिलाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटा र कैलाली जिल्ला पत्रकार महासंघ हिमाल जोशीले पत्रकारहरु राजनीतिक दलमा आवद्ध हुने प्रवृतिले पत्रकारिता क्षेत्रमा चुनौति बढ्दै गएको टिप्पणी गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा विषय विज्ञका रुपमा राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, प्रशिक्षक यशोदा तिमल्सिना, मनमोहन स्वाँर, चित्राङ्ग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिनुहुने आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीले जानकारी दिनुभयो ।