OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १५, २०७८सुर्खेत
५७० पटक

१५ पुस २०७८, बिहीबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले खेल संरचनाहरुमा व्यापक आधुनिकता प्रवेश गर्नुपर्ने बताउनुभएको छ ।

आज कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले खेलकुद क्षेत्रको आधुनिक संरचना विकासले उत्कृष्ट खेलाडी उत्पादन हुने र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्ने बताउनुभयो । “सफल खेलाडी आफैमा अनुशासित, नैतिकवान, सुसंस्कृत एवं स्वस्थ हुन्छ,” उहाँले भन्नुभयो, “अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।”

मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको जनाउँदै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सरकारले समग्र खेलकुदका निम्ति प्रदेशकै गौरवको आयोजना प्रदेश रंगशालाको निर्माण प्रारम्भ गरिसकेको बताउनुभयो । खेलकुद विकासको निम्ति आफ्नो क्षेत्रबाट निरन्तर पहल गर्ने बताउनुभएका उहाँले ‘प्रथम वार्षिकोत्सव’ समारोहबाट तमु (गुरुङ) समुदायको ल्होसार पर्वको उपलक्ष्यमा गुरुङ समुदायसहित सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले खेल क्षेत्रको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा दश हजार दर्शक अट्ने रंगशाला निर्माणको कार्य थालेको बताउनुभयो । प्रमुख सचिव श्रेष्ठले भारतको मुम्बईमा भएको पावर लिफ्टिङ खेलमा पदक हाँसिल गर्ने कर्णालीका खेलाडीलाई रु.दुई लाख पुरस्कार दिने कर्णाली मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्णय गरेको बताउँदै खेलाडी प्रोत्साहन हुने गरी आगामी बजेट छुट्याउन खोजिएको जनाउनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले खेल क्षेत्रको विकासमा परिषद्ले अहोरात्र काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष हमालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने तयारीका साथ अघि बढिएको जनाउनुभयो ।

खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले अध्यादेशमार्फत खेलकुदको ऐनमा भएका त्रुटि सच्याईएको जनाउँदै अँझै पनि नियमावली र कार्यविधि बन्न नसकेको जनाउनुभयो । नियमावलीको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न नसकेतापनि परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रियस्तरको कभर्डहलसहित प्रदेश रंगशालाको काम शुरु गरेको र ३० महिनामा सम्पन्न हुने उहाँले विश्वास दिलाउनुभयो ।

त्यसैगरी, उहाँले थाइल्याण्ठडमा भएको एशियाको सबैभन्दा ठूलो ११० किलोमिटर लामो अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरी कर्णालीसहित नेपालको नाम उँचो राख्ने जुम्लाका चेली सुनमाया बुढालाई बधाई ज्ञापन गर्दै पुरस्कार तथा सम्मानका लागि खेलकुद परिषद्ले कर्णाली प्रदेश सरकारसमक्ष सिफारिस गर्ने जनाउनुभयो ।

उक्त अवसरमा गिनिज बुक अफ वल्र्ड रेकर्डर्स नाम लेखाएर कर्णाली तथा नेपालाई अन्तराष्ट्रिय जगतमा चिनाउन सफल म्याराथुन धावक जुम्लाका हरिबहादुर रोकायको योगदानको उच्च प्रशंसा गरिएको छ । समारोहमा मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी पत्रकारहरुको टोली र ब्याडमिन्टनमा प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्