

२३ मंसिर २०७८, बिहीबार
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संगठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को तयारी तीव्र बनाएको छ ।
केन्द्रले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलको भवनमा यही मंसिर २५–२६ गते सम्पन्न हुने ‘प्रथम प्रदेश सम्मेलन’ तीव्र तयारी थालेको हो । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सचिव रामदीप आचार्यले जानकारी दिनुभयो ।
“सम्मेलनमा प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार १०० जनाको सहभागिता रहनेछ,” सचिव आचार्यले भन्नुभयो, “यसका लागि दशै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु राजधानी सुर्खेत झर्ने क्रम चलिरहेको छ ।” कर्णालीका ७९ तहमा चार पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
सचिव आचार्यका अनुसार सम्मेलन तयारीका लागि प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, प्रचार प्रसार तथा मञ्च व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन, स्वयंसेवक परिचालन, कलाकार व्यवस्थापन, प्रतिवेदन तयारीलगायत गरेर आठवटा उपसमिति गठन गरिएको छ । माओवादी केन्द्रको प्रदेश नेतृत्व चयनका लागि विधानतः निर्वाचन तथा सहमति दुवै विधि प्रक्रिया अपनाईने उहाँले बताउनुभयो ।
आर्थिक अनुशासन कायम गरिने
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत प्रचार प्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक नरेश भण्डारीले कर्णाली प्रदेशको प्रथम सम्मेलनमा आर्थिक अनुशासन कायम गरिने बताउनुभएको छ ।
ऐतिहासिक प्रथम प्रदेश सम्मेलनलाई अन्य पार्टी जस्तो भड्किलो र फजुल खर्चयुक्त नबनाउने गरी कार्यक्रम थालिएको संयोजक भण्डारीले बताउनुभयो । कार्यक्रमलाई प्रभावकारी र सुव्यवस्थित ढंगबाट सम्पन्न गर्ने गरी गठित समितिले क्षेत्रगत कार्य गरिरहेको संयोजक भण्डारीले जनाउनुभयो ।
अन्य पार्टीले आन्तरिक लोकतन्त्रका नाममा लाखौं खर्च गर्ने र मनोनयन दर्ताका नाममा हजारौंको आवेदन दस्तुर तिर्ने परिपाटी माओवादी केन्द्रमा नहुने उहाँले बताउनुभयो । पार्टी नेता तथा कार्यकर्ताहरुलाई आर्थिक भार नहुने र सबैको पहुँच पुग्ने गरी प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्ने नेकपा माओवादी कर्णाली प्रदेश संगठन समितिले जनाएको छ ।