२३ मंसिर २०७८, बिहीबार
गत कार्तिक २८ गते कर्णाली प्रदेशमा दर्ता भएको सिँजा सभ्यता संरक्षण तथा विकास विधयेकको सुझाव संकलन कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मन्दिर परिसरमा सम्पन्न भयो । कर्णाली प्रदेशको बहुप्रतिष्ठित विषय बनेको उक्त विधयेकमाथिको सुझाव संकलनमा कर्णाली र विशेषतः सिँजा सभ्यतासँग सरोकार राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले आ–आफ्ना धारणाहरु राख्ने काम गरे । कर्णाली प्रदेशसभा सचिवालयले अपनत्व लिएको र माननीय नरेश भण्डारीले अगुवाई गरेको त्यस कार्यक्रममा विविध विषयमा चर्चा भए । ती सबै विषयहरु मध्ये सिँजा क्षेत्रका प्रबुद्ध व्यक्ति तुङ्गनाथ उपाध्यायले सिँजाली भाषाको वर्ण र त्यसको लेख्यरुपको समस्याका विषयमा कुरा उठाउनुभयो । जुन खसभाषाको लेख्य रुपमा विकासका लागि अत्यावश्यक देखिन्छ । कर्णाली प्रदेशले स्थानीय भाषामा पाठ्यसामाग्री बनाउने भन्ने चर्चा चलिरहेका बेला यो समस्याको सामाधान छिटो हुनुपर्ने देखिन्छ ।
सिँजार्ली भाषिका अर्थात खस भाषाको लेख्य रुपमा नेपाली मानक भाषाका वर्णहरुको प्रयोग अप्रयाप्त भएको सत्य हो । यो कुरा सिँजा गाउँपालिकाको खस भाषाको स्थानीय पाठ्यक्रम र पाठ्यसामाग्री बनाउदा व्यवहारिक कठिनाइ आएपछि महसुस भएको थियो । लेख्यरुप अभावका कारण खसभाषाका केही शब्दहरु लोप हुने अवस्थामा पुगेका छन् । करीब दुई वर्षअघि विसं.२०७६ चैत्र ३ गते भाषा आयोगमा एउटा कार्यक्रम राखेर यही कठिनाइको समाधानका लागि विषयको उठान गरिएको थियो ।
भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थी, जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महत, भाषाविद् डा.माधवप्रसाद पोखरेल, त्रिभुवन विश्वविद्यालयका भाषा विभाग प्रमुख, काठमाण्डौं विश्वविद्यालयका भाषा विभागका प्राध्यापकलगायतका विशेष प्रबुद्ध व्यक्तिहरुको उपस्थितिले विषयलाई थप महत्व दिएको अनुभव भएको थियो ।
उक्त कार्यक्रममा मलाई सिँजाली भाषिका वा पुरानो खस भाषामा प्रयोग हुने तर लेख्य संकेत नभएका पाँचओटा बर्णको बारेमा प्रतिवेदन पेश गर्ने मौका मिलेको थियो । भाषाविद् डा.माधवप्रसाद पोखरेलले दिएको वर्ण पहिचानको प्रशिक्षणले थप प्रष्टता र दिशाबोध गराएको थियो । त्यसदिनको भाषा आयोगमा भएको रचनात्मक छलफलले सिँजामा गएर ती वर्णहरुको सत्यापन गर्ने निष्कर्ष निकालेको थियो । तर विश्व महाव्यायधिका रुपमा फैलिएको कोभिडका कारण त्यो काम थन्किएर रह्यो ।
स्थानीय खसभाषालाई लेख्य प्रयोजनमा ल्याउनका लागि लेखन, उच्चारण तथा बोधमा केही कठिनाई तथा अलमलहरु रहेका छन् । ती अलमलहरुको विस्तारै निराकरणका उपायहरु पनि निस्कदै जालान् । परिष्कृत नेपालीमा रहेका कतिपय अलमल र झन्झटलाई हलन्त बहिष्कार आन्दोलनले निराकरण गरेको थियो । उच्चारणमा हलन्त हुने देखिए पनि लेखनमा हलन्त गर्न छोडिएका उदाहरण हाम्रा अगाडि छर्लङ्ग छन् ।
भाषा प्रयोग हुँदै जाँदा समस्या आउने र समाधान पनि खोजिदै जाने अवस्था हुनु स्वभाविक मानिन्छ । हामीले धेरै समयपछि पुनः खस भाषालाई लेखन कार्यमा लिने प्रयास गरिरहेका छौ । यसको सुरुआत गोरखापत्रले गरेको छ । कर्णाली प्रदेश पनि खस भाषाको लेख्य चरणमा जुर्मुराएको देखिन्छ । अबको यस लेख्य चरणको सुरुवातमै केही बोलीचालीका वर्णहरुमा अलमल रहेका छन् । यी केही दुविधाहरुलाई एकीकृतरुपमा समावेश गरी समाधानका उपायहरु पहिल्याउन जरुरी भइसकेकोछ । खस नेपाली भाषाको लेख्य प्रयोजनका समस्याहरुलाई तल दिएअनुसार सूचीकृत गरिएको छ ।
१. लेख्य नेपाली मानक भाषामा र देवनागरी लिपिमा ड पछि ढ व्यन्जन वर्ण आउँछ । मानक नेपाली भाषाको उच्चारणमा ड, ढ, ण एकसाथ अर्थात ढ र ण का बीचको वर्ण रहेको छैन । तर उच्चारणमा महसुस गरिन्छ । तर खस भाषामा यो लुप्त वर्णको प्रत्यक्ष प्रयोग हुन्छ ।
जस्तै: घोडा, गोडा, किडा, खुडी, गौंडो, चाखुडो, गडुल, खेडिनु, घाड्या, खोब्डो, कुहिडो, कोदाडी, खडगयो आदिमा ।
२. मानक नेपाली भाषामा अस्तित्वमा नरहेको तर खस भाषाको बोली चालीमा रहेको स र ह को बीचमा परे जस्तो लाग्ने वर्ण अस्तित्वमा रहेको छ ।
यसलाई सुल्पा, सापी, सगुन, साजो, असौज, असुरो, सराप, सानीसई, सानागोसी, सहसिलो, साजी, सद्दो, सजैको, सुबैतो, सुपो, सालनाल, सामल, आदिमा ।
३. त्यस्तै मानक नेपाली भाषामा अस्तित्वमा नरहेको अर्को वर्ण ध र न को बीचमा परेजस्तो लाग्ने र बोल्दा न र ह जोडिएर आउने वर्ण हो ।
जस्तैः नहर, नहट्टो, न, नाआनु, नेएडिनु, नाहाड, नेइथि, नेहेर धौ, आदिमा ।
४. मानक नेपाली भाषामा प्रयोगमा नआएको तर स्थानीय खस भाषामा चलन चल्तीमा रहेको म र ह मिलेर बने जस्तो लाग्ने भ र म वर्णका बीचमा राख्न मिल्ने वर्ण हो । यो वर्णको प्रयोगबाट बनेका शब्दहरु मह, महतारी, महलो, मिहिडो, माहान, मुहुरो, मिहिनेत, माहादेव, माज, मेहेल जस्ता शब्दहरु रहेका छन् ।
५. मानक नेपालीमा हाल अस्तित्वमा नरहेको तर स्थानीय खस बोलीचालीमा प्रचलित अर्को वर्ण ल र ह को संयुक्त मिश्रित ध्वनिबाट बनेको छ । यो वर्णलाई र र ल का बीचमा राखी विचार गर्दा कस्तो हुन्छ भन्ने एक सोचनीय पक्ष रहेको देखिन्छ । यो वर्णको प्रयोग भएर आउने शब्दहरु जस्तै, लहर, लामा, लाजा, लास, लिहिनु, लौनी, लुकाल, लाहा, लसुन, लबाड्नु आदि हुन ।
नेपाली शब्दकोषले समेट्न नसकेका र स्वतन्त्ररुपमा लोकजीवनमा बोलीचालीमा प्रयोग हुदै आएका यी वर्ण र यिनीहरुको लेख्य प्रयोग हुनु जरुरी छ । यी वर्णहरुको प्रयोग गरिरहँदा पनि ती वर्णहरुको संकेत के रहने भन्नेमा अलमल रहेको देखिन्छ । यस भन्दा अघिका विभिन्न भाषाशास्त्री तथा अनुसन्धानकर्ताले यस्ता केही वर्णका बारेमा आफ्ना पुस्तकमा उल्लेख गरेको देखिन्छ । त्यस्ता केही प्रयासहरुलाई यहाँ समेट्ने प्रयास गरिएको छ ।
योगी नरहरीनाथले वि.सं.२०१३ मा प्रकाशन गरेको इतिहास प्रकाश भाग २ को पेज नं ३३४ मा रहेको जुम्ली जिम्मावालको पत्रको तेश्रो पंङ्तिमा सःलाम शब्द परेको छ । जसले स र ह को मिश्रित रुपमा यो वर्ण लेखिएको अनुमान गर्न सकिन्छ । वि. सं. २०२८ सालमा प्रकाशित कर्णाली लोक संस्कृति खण्ड ४ मा भाषाविद् चुडामणि बन्धुले पेज नं २१ मा पाबै र जिउल्यालले बोल्ने स को उच्चारणको फरकमा स र ह मिसिएर आउने वर्णलाई (सिक्– सिक् –खिक) जस्ता थुप्रै उदाहरणहरु दिनुभएको छ । र यो वर्णलाई ख को तल थोप्लो दिनुभएको छ । देवकोटा रत्नाकरको विसं.२०१४ मा संकलन गर्नुभएको जुम्ली शब्दकोषमा यस वर्णको प्रयोग आधा स मा ह लाई हलन्त गरी विसर्ग (स्हः) दिनु भएको छ । गोरखापत्रले खस भाषासम्बन्धी सामग्रीहरु प्रकाशन गर्दा अरु थप वर्णहरुको प्रयोग नगरे पनि आधा स र ह मा विसर्ग दिएर देवकोटाकै वर्ण संकेतलाई मान्यता दिएको छ । विसं.२०७५ सालमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित सिजापति रामविक्रमको जुम्लेली शब्दकोषमा यो वर्णलाई पातलो स को तल थोप्लो राखेको देखिन्छ ।
योगी नरहरीनाथले वि.सं.२०१३ मा प्रकाशन गरेको इतिहास प्रकाश भाग २ को पेज नं ३४५ मा श्री राजा विरभद्र शाहीका पालामा यसै छेड़ा लेखिएकोमा छेडा शब्दमा ड वर्णको तल थोप्लो परेको छ । जसले ड र ण का बीचको वर्णको प्रतिनिधित्व गरेको छ । यसैगरी योगी नरहरीनाथले सम्पादन गरेको हिमाली लोकसाहित्य नामक पुस्तकमा ड वर्णको तल थोप्लो लगाएर यो वर्णको प्रयोग गरेको पाईएको छ । आर डि प्रभास, चटौतद्वारा लेखिएको डोट्याली शब्दकोषमा यो वर्णको प्रयोग भएको छ । यसै शब्दकोषमा भाषाविद डा.माधवप्रसाद पोख्रेलले ड वर्णको तल थोप्लो राख्न सुझाउनु भएको छ । विसं. २०२८ सालमा प्रकाशित कर्णाली लोक संस्कृति खण्ड ४ मा भाषाविद चुडामणि बन्धुले पेज नं ४१ र ४२ मा घोष अल्पप्राण उक्षिप्त मूर्धन्यका रुपमा यो वर्णलाई चिनाउदै स्पष्ट रुपमा ड को तल थोप्लो राख्न सुझाउदै यो वर्णको प्रयोगबाट बनेका शब्दहरुको उदाहरण दिनुभएको छ ।
बाँकी माथि छलफल भएका तीन ओटा वर्णहरु क्रमशः ध र न को बीच पर्ने अनुमान गरिएको आधा न र ह (न्ह), भ र म को बीचमा पर्ने आधा म र ह ( म्ह ) तथा र र लको बीचमा पर्ने अनुमान गरिएको आधा ल र ह (ल्ह) वर्णहरुलाई देवकोटा रत्नाकरले जुम्लेली शब्दकोषमा क्रमशः आधा न मा ह काटिने भनिएको वर्णलाई ह भित्र न पसाल्नु भएको छ । आधा म मा ह काटिने भनिएको वर्णमा सोही गरी विसर्ग थप्नु भएको छ । त्यसैगरी आधा ल मा ह थपिने भनिएको वर्णमा त्यसैगरी विसर्ग थप्नु भएको छ ।
भाषाविद् चुडामणि बन्धुले कर्णाली लोकसंस्कृति भाग ४ मा उल्लेख गर्नु भएको छ । पेज न ४१ देखि ६८ सम्म यी वर्णको चर्चा गरी पेज नं ६८ को तीन नम्बर बुँदामा बन्धुले नासिक्य र अन्तस्थ व्यन्जनहरु पनि शुद्ध र श्वसितका रुपमा व्यतिरेकी छन् । यस अध्ययनमा श्वसनलाई महाप्राणी भवनका रुपमा लिइएको छ । र वर्णहरुको तहमा महाप्राणलाई म्ह, न्ह, ङ्ह, र्ह, ल्ह द्धारा संकेत गरिएको छ भनी उल्लेख गर्नु भएको छ । बन्धुले उल्लेख गर्नु भएका थप दुई ओटा वर्ण ङ्ह र र्ह को विषयमा यहाँ उल्लेख गरेको छैन ।ं
अन्त्यमा ड वर्णमा हलन्त ह जोडिएर ढ, ग वर्णमा हलन्त ह मिसिएर घ, ज वर्णमा हलन्त ह मिसिएर झ, ट वर्णमा हलन्त ह मिसिएर ठ, त वर्णमा हलन्त ह मिसिएर थ, प वर्णमा हलन्त ह मिसिएर फ, ब वर्णमा हलन्त ह मिसिएर भ जस्ता व्यन्जन वर्ण बनेका छन् । र नयाँ संकेतमा लिपिवद्ध भएका छन् ।
सिँजा गाउँपालिकाले खस भाषाको पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण गर्नेक्रममा स्थानीय पाठ्यक्रम निर्माणकर्ताहरुको तर्फबाट सरलता र प्रयोग दृष्टान्तका आधारमा माथि उल्लेख गरिएका थप पाँचओटा वर्णलाई नजिकका व्यन्जन वर्णहरु ड, न, म, ल, र स का तल थोप्लो दिएर प्रयोगमा ल्याउने प्रस्ताव गरेको थियो । यस विषयमा छलफल र आवश्यक अध्ययनसहित माथि उल्लेखित वर्णहरुलाई एकरुपता प्रदान गरी आधिकारिकता र सहजता प्रदान गर्न भाषा आयोगले अब बिलम्ब गर्नुहुदैन ।