OnlinePana

आज : २०७८ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहमंसिर १३, २०७८जुम्ला
१९८ पटक

१३ मंसिर २०७८, सोमबार

यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४ जुम्लाका महिला दिदीबहिनीहरु । त्यति नै बेला ज्येष्ठ महिला १०० वर्षीय कालुदेवी शाही बिहानको तातोमा न्हट्टो (पिठ्यू) सेकाउन त्यही आउनुभयो ।

चिसोले सुत्न नसकेको दुखेसो शाहीले गर्नुभयो । कुराकै सन्दर्भमा “भाउअ ! यो ह्याप्पी बर्थडे भन्या के हो हँ ? नातिनीले आज मेरो ह्याप्पी बर्थडे हो, केक ल्याईदेउ भनेर बिहानदेखि दुःख दिएकी छे,” नजिकै बसेकी सपनालाई सोध्नुभयो, “गाउँ भन्दा आधा घण्टाको दूरीको विद्यालयमा कक्षा ९ मा अध्ययनरत सपना शाहीले बर्थडे भनेको जन्मदिन हो बज्यै भनेर जवाफ दिइन् ।”

“ए ! जन्मदिन हो । यो नातिनीले त्यही भने त भैगोथ्यो नि ! तेईले (त्यसले) ह्याप्पी बर्थडे भन्या हामी क्या थापाउ त ?” शाहीले झर्किदै आफ्नै लवजमा प्रतिक्रिया दिनुभयो । एक शताब्दीको जीवनकालमा कहिले पनि जन्मदिन नमनाएकी उहाँलाई बर्थडे थाहा हुने कुरा पनि भएन । पतिको ज्यान कालापहाडमै गएदेखि आफनो जीवनकालको ५० वर्षदेखि एकल जीवन व्यतित गर्दै आउनुभएकी शाहीले सबै ट्वाटिकी (केटाकेटी) ले ह्याप्पी बर्थडे भनेको सुन्दा उचाट लागेको कुरा सुनाउनुभयो ।

त्यस्तै, ७१ वर्षीय स्थानीय बीरबहादुर शाहीले शहर गाउँ पसिसकेको तर्क गर्नुभयो । “हेर त भाउअ ! अहिले त शहरको नाङ्गो संस्कृति गाउँ पसेछ । आजभोलिका केटोकटीको रहनसहन र पहिरन हेर्दा आफैले मुख ढाक्नुपर्छ । यस्तो त हिँजो हामी टिभीमा वा शहर जाँदा देख्थ्यौं,” उहाँले भन्नुभयो, “हिँजो कपडा च्यातिँदा हामी सात पटक भएपनि टालो टाल्थ्यौं तर आजको पिंढी नयाँ कपडा च्यातेर लगाएको देख्दा उदेक लाग्छ ।”

शाहीले अगाडि भन्नुभयो, “हामी आफै जन्मेको थाहा पाउँदैनथ्यौं । अचम्म ! अहिलेका बच्चा बच्ची अरु कहिले जन्मे भनेर हेक्का राख्दा रहेछन् । त्यो पनि बर्थडे कहिले हो भनेर । जन्मदिनमा मिठो परिकार खानुका साटो भ–नभको खाने, रक्सी पिएर गीत गाउने, तिघ्रा देखाएर नाच्ने, यो कस्तो प्रकारको संस्कार ?”

जन्म, बिबाह र मृत्यु मानव जीवनका सबैभन्दा महत्वपूर्ण पक्षहरु हुन् । जन्म र मृत्यु अन्तरालको संघर्षपूर्ण यात्रा जीवन हो । यही अन्तरालमा हरेक मानिसले साधारण, मध्यम र असाधारण ढंगले जीवन व्यतित गरिहेको हुन्छ । जीवनलाई सोचेजस्तो बनाउने मानव आकांक्षाले जो कोहीलाई संघर्षशील बन्न उत्प्रेरित गर्छ ।

मूलतः जन्मनेहरु गरिब वा धनी परिवारमा जन्मन सक्छन् तर गरिब वा धनी भएर जन्मदैनन् । गरिब वा धनी भनेर चिनाउने त व्यक्तिले जीवनमा गरेको कर्मको परिणामले हो । संसारको सर्वश्रेष्ठ प्राणी मान्छे सबैको जन्मदिन उत्तिकै महत्वपूर्ण छ अपितु, सम्पन्न र सामान्य परिवारले मनाउने जन्मदिवस शैलीका हिसाबले भिन्न भएपनि जन्मदिन मनाउने संस्कृति अहिले एउटा फेसनका रुपमा विस्तार हुन थालेको छ ।

यहाँ कसैले मष्टो पुजुन् वा शिव, बुद्ध पुजुन् वा अल्लाह, जन्मदिनमा अन्ततः ती सबैले केक काटेकै देखिन्छ । बालबालिकादेखि वृद्ध, कार्यकर्ता तहदेखि राजनीतिक नेतृत्व, कथित पूर्वीय चिन्तकदेखि पश्चिमा संस्कृतिका आलोचकहरु सबैले केक काट्दै र ह्याप्पी बर्थडे गीत गाउँदै आएका छन् । उनीहरु त्यसैमा आफूलाई गौरवान्वित ठान्छन् । अफसोच ! कथित पूर्वीय आलोचकहरु पश्चिमा संस्कृतिले नेपाली संस्कृतिमाथि आक्रमण गरेको हवाला दिँदै आएका छन् ।

खासगरी यसअघि प्रतिष्ठित र उच्च ओहोदामा रहेका व्यक्तिहरुले मनाउने जन्मदिन आज हरेकले मनाउँदै जान थालेको छ । आफू जन्मेको महत्वपूर्ण दिनलाई महत्वका साथ मनाउने थोरैले सामाजिक सेवा, परोपकारी र सहयोगी कार्य गर्ने अवसर बनाएको पाईन्छ । तर धेरैले यसलाई निकै भड्किलो, सान, मानका रुपमा मनाउँदै आएका छन् । जन्मदिनमा रुख रोप्ने, ज्येष्ठ नागरिक, अनाथ बालबालिकालाई सहयोग तथा नयाँ कामका लागि आर्थिक सहयोग गरेको पनि पाईन्छ ।

यसको अवसरमा परोपकारी, सामाजिक सेवा, मानव कल्याणका क्षेत्रमा काम गर्नुले जन्मदिनको महत्वलाई अँझ बढी ओजिलो बनाउँछ यद्यपि यसलाई फजुल खर्चको माध्यम बनाएर उरेन्ठेउलो मनोरञ्जन लिने, सामाजिक, साँस्कृतिक मौलिकता विस्थापित गर्ने गतिविधिले हाम्रो नेपालीपन हराउँदै गएको छ । यो त्यतिमा मात्र सीमित नरहेर सामाजिक विकृतिका रुपमा फैलिदै गएको उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन ।

यही कात्तिक २८ गते परेको जन्मदिनलाई मूल अवसर बनाएर चन्दननाथ नगरपालिका ५ जुम्लाका शिक्षाप्रेमी युवा तथा एशिया ईन्टरनेश्नल स्कूलका संस्थापक मनोज बुढाथोकी मगरले रु.१० लाख कोषसहितको ‘गंगामाननिलि अभिनवन केन्द्र’ स्थापना गर्नुभयो । जन्मदिनमा बुढाथोकीले गरेको नवप्रवर्तनात्मक कामले नयाँ पुस्तालाई सृजनशीत एवं रचनात्मक कार्य गर्ने मञ्च तयार ग¥यो ।

बिडम्बना ! कात्तिक २९ गतेका दिन मोरङको बुढीगंगा ६ कोयलपुरमा स्थानीय नानी लिम्बुको भतिजीको जन्मदिन मनाउँदै गरेको भोजमा भने हिंस्रक झडप भयो । झडपमा खुकुरी प्रहार भयो । उक्त खुकुरी प्रहारबाट धनकुटा पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको दुःखद् खबर नेपालका विभिन्न मिडिया प्रकाशन तथा प्रसारण भयो ।

त्यो त्रासदीपूर्ण क्षणले अचेल मनाईने जन्मदिवसहरु विकृत मात्र छैनन्, विनासक बन्दै गएको बुझिन्छन् । खुशीको अवसरमा मान्छेको ज्यान जानुले कस्तो जन्मदिवस मनाईरहेका छौं र हाम्रो समाज कता गईरहेको छ ? भन्ने प्रश्न नेपाली समाजमा उठिरहेको छ । सुखद्पूर्ण तरिकाले मनाईने जन्मदिन भिडन्त, आन्दोलन र लडाई गरिनु निकै दुःखद् कार्य भएको कर्णालीका संस्कृति सम्बन्धी जानकार नवराज न्यौपाने बताउनुहुन्छ ।

“जन्मदिवस मात्र होइन, अहिले त हाम्रा भेषभूषा, रहनसहन, खानपिन, दिनहुँको शैली र संस्कार बदलिएको छ,” न्यौपानेले भन्नुभयो, “पछिल्ला जन्मदिवसहरु मदिरामय बनेको देखिन्छ । उहाँले रसायन मिश्रित केक, स्नो स्प्रे, बर्थडे क्याण्डिल वा मैनबत्ती बाल्ने अनि फुकेर निभाउने, बियर, ह्विस्की, हुक्का, चुरोट खाएर मनाईने जन्मदिवस सुसंस्कृत सामाजिक संस्कार ध्वंसक भएको टिप्पणी गर्नुभयो ।

उहाँले यसलाई पूँजीवादी व्यवस्थाका उपजहरु भएको बताउनुभयो । “पूँजीवादीहरुले जुन काम कुरा गर्छन् त्यही ठिक हो बनाईन्छ । शुरुका दिनहरुमा हामी नेपालमा राजा महाराजाहरुबाहेक अरुले मनाउन चलन थिएन । हाम्रो संस्कृति अनुसार मनाईने जन्मदिनमा सेलरोटी हाल्ने, खीर पकाउने, दियो बालेर यो दियोझैं समाजमा सँधै उज्यालो दिईरहनु भनेर आशीष दिईन्थ्यो । चामलमा बेसार मिसाएर टिका लगाउने गरिन्थ्यो,” उहाँले भन्नुभयो ।

जन्मदिन जस्तो महत्वपूर्ण दिनमा अपनाईने तडकभडक शैलीले आजका बालबालिकालाई झनै प्रभावित पारेको छ । उनीहरुमा आफ्नो, बाबा, आमा, हजुरबा, हजुरआमा, दाई, दिदी, काका, काकी मामा, माईजुलगायतको जन्मदिन कहिले आउँछ भन्ने मनोविज्ञानले काम गरेको पाईन्छ । जन्मदिनमा केक काट्ने, पैसा थाप्ने, स्नो स्प्रे गर्ने, बर्थडे क्याण्डिल बाल्ने सोच उनीहरुको मगजमा बसालिएको मात्र छैन, सामान्य तरिकाले मनाउँदा गिरेको महसुस गर्ने संस्कार स्थापित हुँदै गएको छ ।

जन्मदिन भनेकै ‘केक’ हो भनेर बुझ्ने मनोविज्ञान, ‘जन्मदिनको शुभकामना’ भन्नु भन्दा ‘ह्याप्पी बर्थडे’ भनेर गरिने उच्चारण, दियो बाल्ने भन्दा फुकेर क्याण्डिल निभाउने, नेपाली टोपी लगाउन छोडेर कागजको चुच्चे टोपी पहिरने संस्कारमा सान बढाउँदा कहाँ रह्यो र हाम्रो मौलिक संस्कृति ? बाह्य संस्कृतिमा परनिर्भर भएर हाम्रो संस्कृति लोप हुँदै गयो भन्नु भद्दा मजाक भएको कर्णालीका संस्कृति तथा भाषासेवी रमानन्द आचार्यले तर्क गर्नुभयो ।

भाषासेवी आचार्यले भन्नुभयो, “जन्मदिन मनाउनु राम्रो तर नमनाउँदा पनि केही बिग्रँदैन । यस अवसरमा शुभकामना, शुभेच्छा प्रकट गरेमात्र पनि काफी हुन्छ । यसलाई अतिरञ्जित र अनुत्पादक बनाउन आवश्यक छैन । तर जन्मदिनको खुशी मनाउने भन्दा मनै झस्किने गरी घट्ने मृत्युका घटनाले हामी सबैलाई सोच्न बाध्य बनाएको उहाँले प्रतिक्रिया दिनुभयो ।

मानव जीवनका विविध पक्षमा कलम चलाईरहने लेखिका डा.अरुणा उप्रेतीले विसं. २०७५ असार २१ गते सेतोपाटी अनलाईनमा ‘केकसँगै काटिदै संस्कृति’ शीर्षकमा लेख्नुभएको छ, “हाम्रो संस्कृतिमा जन्मदिनमा घरआँगन र मन्दिरमा दियो बाल्ने चलन छ । अचेल हामी केकमा मैनबत्ती बाल्ने अनि निभाउने संस्कृतिमा भिजेका छौं । हाम्रो आफ्नो चलन मास्दै छौं । योसँगै जीवनका सुन्दर पक्ष पनि नष्ट पार्दैछौं ।”

उहाँले व्यंग्य प्रहार गर्दै लेख्नुभएको छ, केक संस्कृति आत्मसात गर्नेहरू नै ‘नेपालको हजारौं वर्षको संस्कृति यस्तो राम्रो छ, हाम्रो संस्कृतिप्रति गर्व गर्छौं, पर्यटकलाई आफ्ना संस्कृतिबारे बताएर आकर्षण गर्न सक्छौं, यसको जगेर्ना गर्नुपर्छ’ लगायत विषय व्यक्त गर्दै लामो भाषण दिन्छन् । तर संस्कृति फलाउन–फूलाउन व्यवहारिक रुपमा पनि अवलम्बन हुनुपर्छ । नेतृत्वमा बसेकाले उदाहरण दिनुपर्छ । समाजलाई सिकाउनुपर्छ ।

उहाँका अनुसार जन्मदिन होस् वा अन्य कुनै उत्सव, सभामा, केक काट्ने संस्कृति यति व्यापक हुँदैछ कि, अबका केही वर्षमा हाम्रा सबैजसो उत्सव र चाडपर्वमा केक नभइ नहुने चलन बस्ने संकेत देखिँदैछ । केक नकाट्ने होइन् यद्यपि केकसँगै हाम्रो धर्मसंस्कृति मासिदैछ भन्ने हेक्का राख्नुपर्ने डा.उप्रेतीले सुझाव दिनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष डा.निरेश थापा देख्दा सुन्दर लाग्ने तर शरीरका लागि बेफाइदाजनक केमिकल मिश्रित केक पछिल्लो पुस्ताका लागि आकर्षणको वस्तु बनिरहेको टिप्पणी गर्नुभयो । शुरुका दिनमा हुने खानेहरुले मनाउने जन्मदिन अहिले देखासिकीमा परिणत भएको र केक काट्ने, बर्थडे क्याण्डिल बाल्ने, स्नो स्प्रेसहित बढी खर्च गर्दा निकै गौरव र सान ठान्ने संस्कृतिले नेपाली मौलिकतामाथि नै आक्रमण गरेको उहाँको भनाइ थियो ।

“जन्मदिन अनुत्पादक र फजुल खर्चको माध्यम बनेको छ,” शिक्षाध्यक्ष डा.थापाले भन्नुभयो, “यसले गर्दा हाम्रो मौलिक संस्कृति, संस्कारका विषयमा पछिल्लो समयमा टिकाटिप्पणी पनि हुन थालेको छ ।” जन्मदिनमा फजुल खर्च गर्ने, मदिरामय बनाउने शैलीले समाजमा विकृति बढ्दै गएको तर्क गर्दै उहाँले यो अवसरलाई अर्थपूर्ण बनाउन हरेकले समाजमा केही नवप्रवर्तनात्मक काम गरेर सुसंस्कृति स्थापित गर्न नवपुस्तालाई आग्रह गर्नुभयो ।

विशेषतः कर्णाली देवतावादी संस्कारमा बढी विश्वास गर्दछ । कुनै नयाँ काम पर्दा होस् या शुभ साईत वा भाकल गर्दा, केही समस्या, अप्ठ्यारो हुँदा देवता गुहार्ने चलन अहिले पनि जीवितै छ । मष्टो देवता मान्ने परम्परागत धार्मिक संस्कृति विद्यमान हुँदा पनि ग्रामीण क्षेत्रसम्म जन्मदिनसँगै विभिन्न अवसरमा केक काट्ने संस्कृति पसिसकेको छ ।

यसरी केकसँग बढेको मोह र नयाँ पुस्ताले अवलम्वन गर्दै जान थालेको आयतित संस्कृतिले मौलिक संस्कृतिहरु विस्थापित जाने हुन् कि भन्ने विषय पाको पुस्ताको लागि चिन्ताको विषय बनेको छ । धर्म, संस्कृति र पहिचान जोगिनुपर्छ भन्ने विषयमा यत्रतत्र चासो देखिएपनि सघनरुपमा संरक्षणका लागि लागेको पाईदैन ।

तसर्थ, हाम्रा सम्पदाका रुपमा रहेका सबैखाले संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा जोड दिन तीनवटै तहका सरकारहरुदेखि सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्दछ । जन्मदिवस होस् वा अन्य कुनै उत्सव, ती अवसरमा काटिने केक र त्यससँगै हुने भड्किला र तडकभडकयुक्त गतिविधिले जन्मदिन जस्तो सुखद संयोग कात्तिक २९ गते घटेको मोरङको बुढीगंगा ६ कोयलपुरको मृत्युको घटना जस्तो वियोग नबनोस् ।

प्रतिकृया दिनुहोस्