OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०७८सुर्खेत
७१७ पटक

२८ कार्तिक २०७८, आईतबार

कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रंगशाला निर्माण गर्ने भएको छ ।

उक्त रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मुख्यमन्त्री जीवनबहादुुर शाहीको उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माण कार्यको जिम्मा लिएको कम्पनी एमएसी÷जिएसएल जोईन्ट भेन्चुर कान्तिपथ काठमाडौंबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रुपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गर्नुभयो ।

“हरेक ठूला आयोजना संघ सरकारबाट हुँदै आएका छन् तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा ठूलो लगानी गरेर रंगशाला निर्माणको कार्यलाई अगाडि बढाएको छ,” उहाँले भन्नुभयो, “यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको मिति भन्दा अगावै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु ।”

प्राकृतिकरुपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायीलगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीहरुलाई उहाँले सुझाउनुभयो । रंगशाला निर्माणका क्रममा कर्णाली प्रदेश सरकारका तर्फबाट पूर्णरुपमा सहयोग रहने विश्वास दिलाउनुभयो । सम्झौताको क्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले ईपिसी डिजाईन एण्ड बिल्ड अनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिनुभयो ।

“हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आजबाट लागु हुने गरी सम्झौता गरेका छौं,” सदस्य सचिव सञ्ज्यालले भन्नुभयो, “दशहजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ ।” आईएएएफ स्ट्याण्डर्डको आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक पनि निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारअन्तरगतको पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान विसं.२०७८ असार ३१ गते भई ६ बोलपत्रदाताको सहभागितामा ०७८ भदौं २१ गते खोलिएको उहाँले बताउनुभयो । नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी÷जिएसएल जोईन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रंगशाला निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“हामीसँग रंगशाला निर्माणको राम्रो अनुभव छ,” प्रतिनिधि आचार्यले भन्नुभयो, “यसअघि दाङ सम्पन्न गरिसकेका छौं भने पोखरा अन्तिम चरणमा छ ।” जोइन्ट भेन्चुर पार्टनर भारतको बहुराष्ट्रिय कम्पनी गुणस्तर वस्ुतको प्रयोगबाट कर्णाली प्रदेशको रंगशालाको कार्य समयमै सम्पन्न गर्ने उहाँको भनाई थियो ।

रंगशालामा निर्माण हुने संरचनाहरु

दशहजार दर्शक क्षमताको कर्णाली प्रदेश रंगशालामा भूकम्प प्रतिरोधी प्यारोफिट बन्नेछ । भिआइपी प्यारोफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले जनाउनुभयो ।

उहाँका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेलहरू खेल्न मिल्ने छन् ।

प्रतिकृया दिनुहोस्