OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
डिल्लीप्रसाद तिवारीकार्तिक १७, २०७८जुम्ला
१०६८ पटक

१७ कार्तिक २०७८, बुधबार

शरद सकिँदै छ । पहाडी र हिमाली क्षेत्रमा चिसो बढिरहेको छ । बिहान बाक्लो तुषारो देखिन थालेको छ । देशभरिका किसानहरुले अन्नबालीहरु भित्र्याउदै छन् । योसँगै तिहार र छठ आँगनमा आएका छन् । तिहारमा केटाहरु, केटीहरु र कलाकारहरुले आ–आफ्ना योजनाहरु बनाईरहेका छन् । देउसी खेल्नका लागि चाहिने मादल, गीत, माइकलगायतका सामाग्रीहरु जोडिरहेका छन् । नेपाली स्थानीय पोशाकहरुको खोजी हुदैछ । नेपालीहरुको लोकप्रिय चाड तिहारले भिन्न किसिमको उत्साह र उत्सुकता थपिदिएको छ । बिगत केही वर्ष अघिदेखि तिहारले कर्णाली क्षेत्रमा पनि महत्व पाएको छ । कर्णालीमा परम्परादेखि जमदुतिका रुपमा एकदिन र लक्ष्मी औंसी गरी दुईदिन मात्र मनाउदै आएको यो पर्व अब आएर पाँच दिन यमपञ्चकका रुपमा मनाउन थालिएको छ । त्यसैगरी देउसी खेल्ने चलनले कर्णाली क्षेत्रमा पनि व्यापकता पाएको छ ।

कर्णाली क्षेत्रको आफ्नो मौलिक सँस्कृतिको रुपमा परम्परादेखि खेलिदै आएको भैलो लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो समयमा देउसी र भैलोलाई एउटै हो भनेर प्रचार गरिदै छ । कतै कतै त देउसी केटाको र भैलो केटीहरुले खेल्ने गीत हो भनेर नेपाली सँस्कृतिका जानकारहरु भन्न थालेका छन् । जसले सिँजा सभ्यताको एक महत्वपूर्ण पर्वका रुपमा परिचित परम्परादेखि मनाउदै आएको भैलो पर्व देउसीमा विलय हुने खतरा पैदा भएको छ । त्यसैले यस आलेखमा देउसी र भैलोको फरक छुट्याउने प्रयत्न गरिएको छ ।

देउसी, उत्पत्ति र विस्तार

नेपाली सँस्कृतिका जानकारहरुले देउसीलाई पुराणको कथासँग जोडेको देखिन्छ । पराक्रमी र दानी दैत्यराज बलि र देवताको डाहका कारण विष्णुले तीन पाउ माटो मागेर बलिलाई पातालमा बस्न वाध्य बनाएको मिथक जोडेको पाईन्छ । त्यसैगरी प्राज्ञ जगमान गुरुङ सिँजा साम्राज्यका राजा बलिराजको पालामा एउटा गर्भवति महिलाको कथालाई जोडेर बलिराजका पालादेखि देउसी खेल्न थालिएको दाबी गर्दछन् । अरुण उपत्यकाका नेपालको पूर्वीय सँस्कृतिका विषयमा गहिरो अध्ययन गरेका सँस्कृतिका गीत संकलक नवीन खड्का देउसीका यी दुबै मिथकलाई मान्न तयार छैनन् । उनी देउसीलाई मगरको सँस्कृतिका रुपमा चिनाउछन् । देउसी खेल्ने परम्परा नेपालको पूर्वबाट पश्चिमतिर सरेको हो भन्ने उनको भनाई रहेको छ । उनका अनुसार अरुण उपत्यकादेखि पूर्व दार्जलिङसम्म पहिले रंगित नदीको सभ्यताका लिम्बुवानहरुको घना बस्ती थियो ।

लिम्बूवानका राजा बलिहाङको शासनकालमा लिम्बूवान राज्यका मगरसेनाले छिमेकी राज्यको अचानकको आक्रमणबाट लिम्बूवान राज्यलाई बचाएपछि खुशी हुदै मगरसेना देउसी रे फाइलो भन्दै राजाको दरबारमा आए । मगर भाषामा देउसी रे फाइलोको अर्थ हामीले जित्यौं भन्ने हुन्छ । पूजामा बसेका राजाले यो जीतको समाचार सुनेपछि सबै जनतालाई यो जितको समाचार सुनाउन हुकुम दिए । त्यसपछि देउसी खेल्ने चलनको सुरुवात भएको हो ।

यी सबै मिथकहरुको दाबी देउसी खेलमा हामी त्यसै आएका होइनौं,….. बलिराजाको हुकुमै भयो….. भन्ने आशीष गीतको टुक्कालाई जोडेर गरिएका हुन् । नेपाली निबन्धका पच्चीस वर्ष भन्ने पुस्तकको पेज नं २२२ मा दार्जलिङ जस्तो गरी काठमाण्डौंमा त्यसबेला देउसी खेल्ने चलन नभएको कुरा निबन्धकार लेख्दछन् ।

नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउसी खेल्ने चलन शुरु भएको करीब तीन दशक भन्दा बढि भएको छैन । हालको सिँजा गाउँपालिका वडा नं २ मा अवस्थित प्रावि चुलेलगाँउमा कार्यरत गुल्मीका शिक्षक केशव पोख्रेलले २०५१ सालतिर गाउँमा विद्यार्थीको समूह बनाई देउसी खेलेर सिँजा उपत्यकामा देउसी खेल्ने चलन चलाएका थिए । माथिका सबैका आ–आफ्ना दावी रहेपनि देउसी खेलको प्रचलन नेपालको पूर्वीय भागबाट आएको कुरामा सत्यता छ । त्यसैले देउसी खेलको उत्पत्ति र विस्तार नेपालको पूर्वी भागबाट पश्चिमतिर हुँदै आएको कुरामा सँस्कृतिसम्बन्धी जानकार नवीन खड्कासँग सहमत हुन सकिन्छ ।

भैलो, उत्पत्ति र विस्तार

सिँजा सभ्यता र सँस्कृतिसँग जोडिएको विशेष पर्व हो भैलो । यो एक आशीष गीत हो । यसले सबैको भलाईको कामना गर्दछ । सिँजा सभ्यतामा लोकप्रिय सँस्कृतिका रुपमा ठूलो भैलो प्रख्यात छ । ठूलो भैलो भारतको कुमाऊ, गढवाल, सुदूरपश्चिम र कर्णाली क्षेत्रमा मनाउने र खेल्ने परम्परा रहि आएको छ । भैलोलाई कतै भैलो, कतै भर्सो, भस्सो, भुवो, भोलाउलो, कण्ठदुआ आदि नामले पनि पुकार्ने गरिन्छ । जुम्लामा ठूलो भैलोको साथसाथै सानो भैलो ऋतु जनाउने पर्वका रुपमा पनि खेलिन्छ ।

सानो भैलो

यो शरदको अन्त्य, अन्नपातको भण्डार गरेपछि चिसो शुरु भएको अर्थात हेमन्तको शुरु भएको जनाउ दिदै मसिर पूर्णिमाका दिन खेलिन्छ । केटा र केटीका फरक समूहमा भैलो खेलिन्छ । केटाहरुको आशीष गीतमा आई पुनीका बार…..भैलो, दर बुधबार…भैलो, भनेर भट्याउछन् भने केटीहरुले लामो लयमा चुल्याँसीका धार धार हड संग्यानी औं…., डबठीका तालताल माग संग्यानी औं….. भनेर आशीष गीत गाउने चलन छ । प्रत्येक घरमा आशीष गीत गाएर भैलो खेल्ने गर्दछन् । घरका मालिकले चामल, दाल, र केही रुपैया दिने चलन छ । जम्मा भएका रुपैयामा केही आफै थपेर भएपनि समूहमा पाठोभात खाने गर्दछन् । पाठो भनेको खसी र भात अर्थात मासुभात बनभोज जस्तैगरी खाने गर्दछन् । महिलाहरुले पनि आ–आफ्ना घरबाट चामल, दाल, पैसा आदि ल्याएर समूहमा पाठोभात खान्छन् । पाठोभात खाएपछि अन्नमा मुसा कम लाग्ने भन्ने जनविश्वास पनि छ ।

ठूलो भैलो

कुमाऊ गढवालको सँस्कृति र इतिहाँसका जानकार भिष्म कुकरेती कुमाऊ गढवालका इतिहास भाग १७७ मा भैलोको उत्पत्ति सन् १६०२ देखि सन् १६०५ को लडाई पछि भएको उल्लेख गर्दछन् । कुमाऊका राजकुमार लक्ष्मीचन्द्र र गढवालका राजा मानसिंहबीच भएको सात पटकसम्मको लडाईमा हारजित हुन नसकेपछि लक्ष्मीचन्द्रले जावेश्वर, लक्ष्मेश्वर र वागेश्वरका देवलहरु बनाए । लक्ष्मीचन्द्रको तर्फबाट गैडा बिस्ट र मानसिँहको तर्फबाट खन्तडले लडाईको नेतृत्व गरे । लडाईमा गैंडा बिस्टको जीत भयो । राज्यका सिमाना रहेका पहाडका टाकुराहरुमा घाँस, पराल, दाउरा बालेर खुशियाली मनाइयो । त्यसपछि प्रत्येक वर्ष भेल भैलोजी भैलो कण्ठदुआ….., गैडाकी जित, खन्तडकी हार…, गैडा प¥यो सियाल, खन्तड प¥यो भेल… भनेर प्रत्येक बर्ष भैली खेल्ने चलन चल्यो । नेपालको सुदूर पश्चिममा खेलिने भुवो खेलमा पाण्डव र कौरवको युद्धको मिथक जोडेको पनि पाइन्छ ।

कर्णाली क्षेत्रमा भैलो खेलको शुरुवात कहिलेदेखि भयो भन्ने खास तिथि र प्रमाण छैन । तर ठूलो भैलो पश्चिमका सबै ठाउँमा पुस महिनाको औसीमा खेलिन्छ । यसलाई भट्टेऔसी पनि भनिन्छ । गाईवस्तुलाई यो दिन भटमास पकाएर खुवाउने चलन छ । घरमा पनि सबैले त्यो दिन भटमासको दाल पकाएर खान्छन् । ठूली भैलीको पुरुषले खेल्ने आशीष गीतमा मानसरोवरबाट भैलो उत्पत्तिको इतिहास जोडिएको छ ।

भैलो मानसरोवरबाट दक्षिणतिर ताक्लाखार, करानदरा, मुगु, खत्याडदरा, सिँजा, दुल्लु हुदै दाङ्गसम्म बिस्तार हुदै गएको कुरा उल्लेख छ । यसमा पइलिअ भइलो कहाँ उब्जियो ?ं…..पइलिअ भइलो सरोवर उब्जियो । सरोवरका भइलाले क्या खान्की पायो ? सरोवरका भइलाले सुनै खान्की पायो…….यो पुरुषले खेल्ने भैली गीतको पहिलो टुक्का हो । पुरुषहरुले अन्तिम टुक्कामा भैलो बाइगो दाङ्घ मोहोर….. पैसा माग…. भन्दछन् । त्यसैगरी महिलाले खेल्ने भैली गीतमा दुल्लुका देवलमनी केवडो बासन लाग्यो ह्दय फाटन लाग्यो को र लाउला पहरिको बाटो……….भन्ने गीतबाट शुरु हुन्छ । त्यसैले सिँजा सँस्कृतिमा भैलो मानसरोवरबाट उत्पत्ति भएर दुल्लु र दाङ्गसम्म फैलिएको भैली गीतबाट प्रष्ट हुन्छ । यसमा कुनै मिथक जोडिनु आवश्यक देखिदैन । यो विशुद्ध साँस्कृतिक पर्व हो ।

हिमाली र पहाडी इलाकामा चिसो बढ्ने, हिउँ पर्ने भएकाले खेती हुदैन । उचाइमा रहेको मानसरोवरबाट भलाई र शुभआशीषको सन्देश त्यस बेलाको सिँजा साम्राज्यमा फैलाउने उद्देश्यका साथ यो पर्वको विस्तार भएको अनुमान गर्न सकिन्छ ।

अन्त्यमा

हामी कर्णाली र कर्णालीपश्चिमका मानिसहरु आफ्नो मौलिक भैलो सँस्कृतिलाई छोडेर तिहारको देउसीलाई पछ्याइरहेका छौ. । नेपालको पूर्वतिरका हाम्रा सँस्कृतिका जानकारहरु देउसी भैलो एउटै भएको दाबी गरिरहेका छन् । नेपालका कलाकारहरु, क्लबहरु देउसी भैलो समूह निर्माण गरेर देउसी र भैलो एकैसाथ खेलिरहेका छन् । देउसी गीत गाएर भैलो मागिरहेका छन् । देउसी र भैलो गीत आफै कथेर गाउने चलन बढेर गएको छ । जसले देउसी र भैलोको अन्तर छुट्याउन कठिन भएको छ । बिस्तारै भैलोको ठाउँ देउसीले लिदैछ ।

कर्णाली र आसपासका क्षेत्रमा देउसी खेल्ने चलन बढेर गएको छ । अर्कोतिर भैलो खेल्ने चलन करिब करिब छोडिएको अवस्था छ । जसबाट परम्परा, इतिहास र लामो बिरासत बोकेको सिँजा सभ्यताको भैलो देउसीमा जबर्जस्त रुपमा विलय हुने खतरा बढेर गएको छ । यसको सम्वद्र्धन र संरक्षणका लागि फेरी पनि हामी सबै सरोकारवालाहरु अबिलम्ब जुर्मुराउने बेला आएको छ ।

प्रतिकृया दिनुहोस्