२४ असोज २०७८, आईतबार
नेपालमा कर्मचारी तथा शिक्षकहरुले अनिवार्यरुपमा लिनुपर्ने सेवाकालीन होस् या विभिन्न संघसंस्थाले दिन क्षमता अभिवृद्धि, पुनर्ताजगी तालिम तथा प्रशिक्षण, अक्सर लिएको पाईन्छ । यद्यपि ती तालिम एवं प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुभव कमैले मात्र कार्यस्थल एवं व्यवहारिक जीवनमा प्रयोग गरेको पाईन्छ ।
यस हिसाबले हेर्दा सरकार तथा सहयोगी संस्थाहरुबाट प्रदान गरिएका तालिम र दिक्षित जनशक्तिको काम निष्प्रभावी देखिन्छ । औंलामा गन्न सकिने बाहेक नेपालका बहुसंख्यक सरकारी तथा सामुदायिक विद्यालयको शिक्षण सिकाई प्रक्रिया अहिले पनि सैद्धान्ति एवं परम्परागत ढाँचाबाट अगाडि बढेको पाईन्छ । कर्णालीको शैक्षिक अवस्था पनि त्यो भन्दा भिन्न छैन ।
शिक्षाको त्यही अवस्थालाई अध्ययन गर्दै आएको टास्क नेपाल तथा ग्लोबल स्किल डेभ्लोप्मेन्ट नेपालले सुषुप्त अवस्थाको शिक्षामा रुपान्तरण ल्याउन देशैभर ‘सामुदायिक विद्यालय सुधार अभियान’ थालेको छ । त्यस अभियानका क्रममा उक्त संस्थाहरुको सहजीकरणमा चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ दैलेख हाडाकोटस्थित चामुण्डा नमूना माविका यही असोज १५–२१ सम्मको कार्यशाला गोष्ठी सञ्चालन गरियो ।
गोष्ठीमा आयोजक चामुण्डा तथा छिमेकी विद्यालयका आधारभूत एवं मावि तहका शिक्षक शिक्षिकाहरु गरी ३५ जना सहभागी भए । गोष्ठी शुरु भयो र त्यसको सहजीकरण शैक्षिक अभियान्ताद्वय अर्जुन भट्ट र क्षेत्रप्रसाद ज्ञावलीले गर्नुभयो । कार्यशाला क्रियाकलाप र परियोजना कार्यमा आधारित सिकाईमा मुखरित थियो ।
उक्त गोष्ठी अँझ बढी क्रियाकलापमा आधारित सिकाईमा केन्द्रित बन्यो । प्रशिक्षण एवं तालिमको अनुभव लिईसकेका शिक्षक शिक्षिकाहरुलाई त्यति धेरै ठूलो अपेक्षा थिएन । एक दिन क्रियाकलापमा आधारित सहजीकरण र दुई दिनसम्म क्रियाकलापमा आधारिक शैक्षणिक सामग्री निर्माण गर्ने जिम्मा दिईयो ।
त्यस्तै, दुई दिन परियोजना कार्यमा आधारित विभिन्न छ वटा नवीन सिकाईका विधिहरुको अभ्यास गराईएको थियो । शैक्षिक अभियान्ता द्वयले अभियानको दौडानमा एक दिन अभिभावक शिक्षा कार्यशाला र एक दिन बालबालिकालाई आचरण सिकाई सम्बन्धी परामर्श कक्षा सञ्चालन गर्नुभयो । जब कार्यशाला व्यापक बन्दै गयो, समान्य सोच बनाएका शिक्षक शिक्षिकाहरुले उक्त गोष्ठीमा निकै फरक प्रतिफलक प्राप्तिको अनुभूति गरे ।
कार्यशालाले क्रियाकलाप, रमाईलो, व्यस्तता र भयरहित वातावरणमा बच्चाले सिकाई गर्ने विधि मात्र प्रस्तुत गरेन, थाहै नपाएर बालबालिकाहरुले धेरै ज्ञान लिन र जान्न सक्छन् अपितु, शिक्षक त्यसका लागि सहजकर्ता बन्नुपर्ने रहस्योद्घाटन गर्यो । सामाजिक अवयव, सुसंस्कार, आर्दश, सभ्यता, विज्ञान, प्रकृति, मनोविज्ञान र सकरात्मक सोचलाई सैद्धान्तिक नभई व्यवहारिक तवरबाट प्रकट गर्नुपर्ने यथार्थतालाई सहजकर्ताद्वय भट्ट र ज्ञावलीले प्रष्ट्याउनुभयो ।
उक्त कार्यशालाको अनुभूति व्यक्त गर्दै आयोजक चामुण्डा माविका अंग्रेजी शिक्षिका जमुना दुलालले पेशागत जीवनमै जीवन्त सिकाई विधि प्राप्त भएको बताउनुभयो । “अहिलेसम्म वास्तविक शिक्षक बनिएकै रहेनछ । बालबालिकाको मनस्थितिमा बस्न सकिएकै रहेनछ,” शिक्षिका दुलालले भन्नुभयो, “यो कार्यशालाले सेलाएको जोश, थाकेको मस्तिष्कमा निकै उर्जा दिएको छ ।”
मावि अंग्रेजी शिक्षक काँशीराम सापकोटाले कार्यशाला गोष्ठीले हामीभित्र मरिसकेको सेल र सोचलाई पुनर्जीवित गराएको बताउनुभयो । शिक्षक सापकोटाले भन्नुभयो, “सबै चीज हामी भित्रै रहेछ, बाहिर खोजेर भूल गरेका रहेछौं । यो सिकाईले आफैलाई राम्रोसँग चिनायो ।”
सहभागी अर्का शिक्षक पूर्णप्रसाद सापकोटाले गोष्ठीले अहिलेसम्म हामी बेबारिसे शिक्षण गरिरहेको महसुस गराएको बताउनुभयो । शिक्षक सापकोटाले भन्नुभयो, “शैक्षिक सामग्री महंगोमा किनेर कक्षाकोठा सिंगार्ने हाम्रो संस्कृति र मनोवृतिलाई यसले पूर्णरुपले चिरेको छ । हाम्रो वरिपरि खेर फालिएका सबै चीजबाट यथेष्ट सामग्री बनाउन सकिदो रैछ भन्ने सिकाई र ज्ञान दुवै भएको छ ।”
गोष्ठीमा सहभागी पाका शिक्षक खडानन्द सुवेदीले बालबालिकालाई पुस्तक पढाएर समय बर्बाद गरिएको अनुभूति प्रकट गर्नुभयो । जीवनमा पहिलो पटक फिल्म वा सर्कस हेरे जस्तो लागेको प्रतिक्रिया दिँदै शिक्षक सुवेदीले भन्नुभयो, “कार्यशालाले पढाउने होइन, सिकाउने शिक्षक बनायो । दुई वर्षपछि मेरो निवृतिभरणको समय आएपनि म अब शिक्षण सेवा दिईरहने छु ।”
गोष्ठीमा अभियान्ता भट्ट र ज्ञावलीले पूर्ण बालमैत्री विद्यालयको अवधारणा, व्यवहारतः नमूना विद्यालय बनाउन नमूना विद्यालय सञ्चालन कार्यविधि, शिक्षकरहित विद्यालयको अवधारणा प्रस्तुत गर्नुभएको थियो । कार्यशाला सम्पन्नपश्चात् शिक्षक शिक्षिकाहरुले क्रियाकलापमा आधारित नमूना विद्यालय बनाउने प्रतिवद्धता गरेका छन् ।