OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

चाडपर्व सुरक्षा योजनाः कर्णालीमा चार हजार प्रहरी परिचालन

प्रहरीलाई दशैं तिहार जनताको सहानुभूति लिने अवसर

कोरपाटी संवाददाताआश्विन २३, २०७८सुर्खेत
१४६४ पटक

२३ असोज २०७८, शनिबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो । यस योजनाअन्तरगत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चार हजार ३५१ प्रहरी जनशक्ति खटाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिनुभयो ।

“नागरिकहरुको शान्ति, सुरक्षालाई ध्यानमा राखेर हामीले सुरक्षा कार्य योजनाअन्तरगत दुर्घटना न्यूनीकरण तथा सहज आवागमनका लागि सडक अनुशासन, बैंक, वित्तिय संंघसंस्था तथा आर्थिक कारोवार हुने स्थानहरुमा सुरक्षा व्यवस्था गरेको छौं,” प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “चाडपर्वमा खेलिने जुवातास, डाईस, कौडा प्रवृतिको पूर्ण नियन्त्रण र चोरी तस्करी, लागुऔषधको ओसारपसार नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकिङ्को व्यवस्था गरिएको छ ।”

त्यस्तै, महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उहाँले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताउनुभयो । सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरुलाई ठगिन नदिन, समान हराए खोजतलास गर्ने, पकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रण तथा चाडपर्वको अवधिमा हुन सक्ने झै–झगडा तथा सम्भावित विवादको रोकथाम गर्ने योजना प्रहरीले बनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले तत्काल आईपर्ने घटनाको उद्धार तथा राहतका लागि उद्धार टोली व्यवस्था गरेको छ । त्यस्तै, अपराध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणका लागि आकस्मिक चेक प्वाईन्ट, मोबाईल, पैदल एवं मोटरसाईकल गस्ती तथा सीमा नाकामा तालिम प्राप्त कुकुरसहित चेकिङ्को व्यवस्था गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्व अवधिभरका लागि ११४ वटा क्वीक रेस्पोन्स टिम परिचालन गरेको छ भने मादक पदार्थ सेवनसहित १२९ स्थानमा नियमित चेक प्वाईन्ट ड्यूटीको व्यवस्था गरेको छ । त्यस्तै, सीमानाहरुमा चोरी तस्करी नियन्त्रण गर्न नौ, ट्राफिकसहितको संयुक्त चेकिङ ४६, जुवातास, चोरी, लुटपाट, भै–झगडा नियन्त्रणका लागि ७० र पिकेट राजमार्गमा स्कटिङ मोबाईल तथा पैदल गस्ती ३८७ स्थानमा गर्ने योजना अनुरुप प्रहरीले काम अघि बढाएको छ ।

त्यसैगरी, सुरक्षा कार्य योजनाअन्तरगत यात्रु सहायता कक्ष ३८, धार्मिक तथा पर्यटकीयस्थल र आर्थिक कारोबार हुने ९७, क्वारेन्टिन तथा आइसोलेशन केन्द्र १३, कर्डन सर्च एण्ड एम्बुस् आठ, आकस्मिक सभा जुलुस, धर्ना कार्यक्रम हुने १३, लामो सवारी दूरीमा विशेष चेकिङ् हुने १८ स्थान तोकी आवश्यकता अनुसार प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीलाई दशैं तिहार जनताको सहानुभूति लिने अवसर

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले दशैं, तिहार तथा छठलगायतका पर्वहरु जनताको सहानुभूति लिने अवसर भएको बताउनुभयो ।

वर्षमा एक पटक आउने महान् चाडपर्वमा नागरिकले शान्ति र सुरक्षाका साथ मनाउने वातावरण निर्माण गर्नु प्रहरीको कर्तव्य भएको बताउँदै प्रहरी नायब महानिरीक्षक ऐरले यसबाट प्रहरीलाई जनताको सहानुभूति लिने अवसर मिल्ने जनाउनुभयो । “यो बेला सम्पूर्ण नेपालीहरुले खुशीयालीका साथ दशैं तिहार मनाईरहँदा प्रहरी आफ्नो कर्तव्य पालना गरिरहेको छ,” उहाँले भन्नुभयो, “यो देख्दा नागरिकहरुलाई प्रहरीप्रति सहानुभूति पलाउला नि ?”

उहाँले थप्नुभयो, “प्रहरीले नागरिकको शान्ति सुरक्षार्थ आफ्नो जीवन समर्पित गरेको छ । उनीहरुलाई राज्य भएको महसुस गराउनु हाम्रो प्रमुख दायित्व हो । तसर्थ यो अवधिमा मैले प्रहरी अधिकृतहरुलाई विदामा नबस्न निर्देशन गरेको छु ।” प्रहरी हाम्रा लागि हो भन्ने बुझेर नागरिकहरुले आफुलाई अनुशासित बनाई खुशीका साथ चाडपर्व मनाउन र अवाञ्छिन गतिविधि हुन नदिने कुरामा सहयोग पुर्याउन प्रहरी नायब महानिरीक्षक ऐरले अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्