OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १९, २०७८जुम्ला,
२३४३ पटक

१९ भाद्र २०७८, शनिबार

नेकपा एमाले जुम्लाका पदाधिकारीसहित ५८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एमालेको मौजुदा ६१ सदस्यीय जिल्ला कमिटि सदस्य संख्यामा ५८ जनाले समाजवादी पार्टी रोजेका हुन् ।

जुम्लामा आज गरिएको पत्रकार भेटघाट कार्यक्रममार्फत यस अघि नेकपा एमालेमा रहेका जिल्लास्तरका नेताहरुले एमाले छोडी नेकपा एकीकृत समाजवादी पार्टी रोजेको घोषणा गरेका छन् । अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहित तीनजना बाहेक सिंगो कमिटिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी पत्रकार भेटघाट कार्यक्रमबाट गराईएको छ ।

पत्रकार भेटघाटमा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफुहरु नेकपा एकीकृत समाजवादीको यात्रामा लाग्न बाध्य भएको बताउनुभयो ।

उहाँले हिजो एउटा प्रदेश पनि माधव नेपाल पक्षधरलाई मुख्यमन्त्री दिन नचाहने घमण्डले ओली आफै कमजोर भएको आरोप लगाउनुभयो। नेकपा एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार भेटघाटमा ओली प्रवृत्ति राम्रो नभएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीमा जुम्लामा आफुहरु लागेको घोषणा गरिएको छ ।

उपचारको क्रममा अध्यक्ष तीर्थबहादुर बुढा काठमाडौं रहेपनि पूर्ण समर्थन रहेको जनाईएको छ । पत्रकार भेटघाटमा नेकपा समाजवादीका नेता आदीप्रसाद न्यौपानेले नेकपा एमाले देशको ठूलो पार्टी हुदा पनि केपी ओलीको दम्भले यो अवस्थामा आईपुग्न बाध्य पारिएको दोषारोपण गर्नुभयो ।

पत्रकार भेटघाटमा वाचन गरिएको प्रेस विज्ञप्ति अनुसार प्रदेशसभा सदस्य पदम रोकाया, नगरपालिकामा जितेका जुम्लाका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भईसकेको र अन्य जनप्रतिनिधिहरुलाई यही भाद्र २२ गतेसम्म सनाखत गर्न आवह्रान गरिएको छ । उक्त पार्टी भाद्र २३ गते एकीकृत समाजवादीको जिल्ला भेला गर्ने निर्णय गरेसँगै सबै अगुवा कार्यकतालाई भेलामा उपस्थित हुन अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्