

१९ भाद्र २०७८, शनिबार
नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) निकट नेता धर्मेन्द्र बास्तोललाले नेपालमा एमसीसी पास भए अफगानिस्तानको अवस्था आउने बताउनुभएको छ ।
सरकार सँगको वार्ता र निषेधाज्ञा सहजपछि पार्टीको अन्तरक्रिया गर्दै जुम्ला पुगेका नेता बास्तोलाले पत्रकार भेटघाटमा एमसीसी नेपालका लागि खतरानाक र हानिकरक भएकाले कुनै पनि हालतमा पास हुन नहुने बताउनुभयो । उहाँले नेपाली जनताले यसलाई पास गर्न कुनै पनि हालतमा नदिने भन्दै त्यसको विरोध आफ्नो पार्टीले समेत गर्दै आएकोमा जोड दिनुभयो ।
नेता बास्तोलाले एक दुई जना नेताले एमसीसी पास गर्न प्रयास गरेको भन्दै त्यो सम्भव पनि नहुने ठोकुवा गर्नुभयो । उहाँले नेपाल कम्यूनिष्ट पार्टीको अहिले मुख्य उद्देश्य संसदवादी राजनीति फेल भईसकेकोले जनमत संग्रहबाट वैज्ञानिक समाजवाद आवश्यक भएकोमा जोड दिनुभयो ।
नेपाल कम्यूनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा एमसीसी परियोजनाको जमीन सुरक्षा एमसीसीले नै गर्ने उल्लेख भएकाले त्यो संसदले पारित गरेमा चीन र भारतबीचमा नेपाल अमेरिकी सेनाको कब्जा हुने भएकाले सचेत हुन आग्रह समेत गर्नुभयो । उहाँले संसदीय व्यवस्थालाई खारेज गरेर जनमत संग्रहका लागि नेपालका कम्यूनिष्टहरु एक हुनुपर्नेमा समेत जोड दिनुभयो ।
विप्लव नेकपाको केन्द्रीय सचिवालय सदस्य नेता बास्तोला, केन्द्रीय सदस्य एटम बिसीसहितको टोलीले पश्चिम नेपालको विभिन्न जिल्लामा पछिल्लो राजनितिक अवस्था र पार्टीको धारणसहितको अन्तरक्रिया गर्दै जुम्ला पुगेको र शनिवार जुम्लामा खुला अन्तरक्रिया कार्यक्रम गर्ने जिल्ला सेक्रेटरी बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।