OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १६, २०७८काठमाडौं
१०९५ पटक

१६ भदौ २०७८, बुधबार

कर्णालीमा नेकपा एमाले प्रदेशसभा दलका तीनजना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रो्जेर सनाखत गराउनुभएको छ ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा गएर आज उहाँहरुले सनाखत गराउनुभएको हो । प्रदेशसभा सदस्यहरु रुकुमपश्चिमका देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेर प्रदेश निर्वाचन कार्यालयमा आफ्नो सनाखत गराउनुभएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । यसको सबै विवरण २२ गतेपछि निर्वाचन आयोग नेपालले सार्वजनिक गर्ने निर्वाचन अधिकारी चालिसेले बताउनुभयो ।

प्रदेशसभा रहेको एमालेको २० सदस्यीय संसदीय दलबाट तीन जनाले आजदेखि एकीकृत समाजवादी पार्टीमा लागेको पत्रकार भेटघाटमार्फत जानकारी दिएका छन् । माधव पक्षका तीन जनालाई नेकपा एमालेले कारवाही गरिसकेको छ । गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारवाही गरेको थियो ।

एमालेका कारवाहीमा चारैजना सदस्यहरु अहिले नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश कमिटीमा छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वय देवी ओली र चन्द्रबहादुर शाही भने नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापाले कम्युनिष्ट सिध्याउन चलखेल हुनुको साथै संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएपछि नेकपा एकीकृत समाजवादी पार्टी जन्मेको बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवृति र प्रतिगमनविरुद्ध विद्रोह गरेर समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्यको यात्रा प्रारम्भ गरिएको तर्क गर्नुभयो ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको अध्यक्ष समेत रहेकी सभा सदस्य ओलीले पार्टी विभाजन रहर नभई बाध्यता भएको यद्यपि यसले संविधान, लोकतन्त्र र समाजवादी यात्राको महान् अभियानमा सहयोग पुग्ने बताउनुभयो । प्रदेशसभा सदस्यद्वय चन्द्रबहादुर शाही र पदमबहादुर रोकायले नेतृत्वको कमजोरीको परिणाम नेकपा एकीकृत समाजवादी पार्टी भएको र यसमा संख्या बढ्ने पनि दावी गर्नुभयो ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार यही भदौ २२ गतेसम्म प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्ने समय दिएको छ । अब आजबाट कर्णाली प्रदेशसभामा एमालेका १६ बाट १३, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाको १ जना सदस्य संख्या रहने छ ।

 

प्रतिकृया दिनुहोस्