OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १२, २०७८सुर्खेत
५१७ पटक

१२ भदौं २०७८, शनिबार

एक महिनादेखि आन्दोलनरत विद्यार्थी संगठन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनबीच शनिबार सहमति भएको छ ।

विश्वविद्यालयका सह–प्राडा.लिलाधर तिवारी संयोजकत्वको उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुबीच शनिबार भएको वार्ता एवं छलफलबाट विश्वविद्यालयमा भएको तालाबन्दी खोल्ने र परीक्षा सञ्चालन गर्ने निर्णयसहितको सहमति भएको छ । वार्ता समितिका सयोजक सह–प्राडा. लिलाधर तिवारीले विश्वविद्यालयमा भएका सबै अवरोधहरु हटाएर अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय, प्रशासनलगायतका विभाग, शाखा तथा कार्यालयमा लगाईएका ताला खोल्ने र पूर्व निर्धारित कार्यतालिका अनुसार दशैं अघिसम्म विश्वविद्यालयले लिने सबै तहका परीक्षाहरु सम्पन्न गर्ने गरी लिखित निर्णयसहित विद्यार्थी संगठनहरुसँग सहमति गरिएको संयोजक सह–प्राडा. तिवारीले बताउनुभयो ।

वार्ता समितिका सदस्य तथा शिक्षाशास्त्र संकायका पूर्व सहायक डीन विष्णुकुमार खड्काका अनुसार नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार कोभिड–१९ अवधिभरको विद्यार्थीको शिक्षण शुल्क मिनाह गर्ने, कोरोना र परीक्षा सञ्चालनका कारण छात्रवृति दिन बाँकी रहेका विद्यार्थीहरुलाई यही मंसिर मसान्तसम्म वितरण गरिसक्नेलगायतका सातवटा निर्णय भएको छ ।

यता वार्तामा सहभागी भएको विद्यार्थी संगठन मध्यका नेविसंका प्रतिनिधि झक्कबहादुर शाहीले विश्वविद्यालयले लिने परीक्षाहरु वैकल्पिक तथा भौतिक उपस्थिति दुवै माध्यमबाट परीक्षा लिने गरी सहमति गरिएको बताउनुभयो । विद्यार्थीहरुको परीक्षा कुन माध्यमबाट दिने भनेर विद्यार्थीलाई रोज्न लगाउने र त्यसका लागि परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको ५ दिनभित्र तोकिएको गुगल फर्म भरी सोही अनुसार परीक्षामा तोकिएका मापदण्डमा रहेर परीक्षा सञ्चालनको समयतालिका अबिलम्ब सार्वजनिक गर्ने सहमति भएको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्