
९ भदौ २०८३, मंगलबार
सुर्खेतः कर्णाली प्रदेशसभा सदस्यहरुले प्रदेशका समसामयिक र सार्वजनिक सरोकारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको मंगलबार बसेको २९औं बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दल नेता जीवनबहादुर शाहीले नेपाल सरकारको मन्त्रिपरिषद्को विसं. २०८२ असोज ५ गतेको निर्णय अनुसार आयोजनाको पुनःप्राथमिकीकरण, अनुत्पादक खर्च कटौति र मितव्ययिता कायम गर्ने सन्दर्भमा नेपालको संविधान बमोजिक सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा अगाडि बढ्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
करिब एक महिनादेखि प्रदेश सरकारले पूर्णता पाउन नसक्नुले विभिन्न आयोजना तथा कार्यक्रम अगाडि बढ््न नसकेको र त्यसले यहाँका नागरिकका काममा अवपरोध पुगेको बताउँदै उहाँले कानुनसम्मत आफ्ना गतिविधिलाई कार्यान्वयनमा लैजान प्रदेश सरकारलाई सुझाउनुभयो ।
प्रदेशसभा सदस्य राजकुमार शर्माले नीजि विधेयकका रुपमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कर्णाली आर्थिक समृद्धि सम्बन्धी विधेयकलाई कार्यसूचीमा राखेर सदनमा टेबल गरी छलफल गर्नुका साथै कानुनी रुप दिन सरकारको ध्यानाकर्षण गर्नुभयो । उक्त विधेयक सरकारको अनुकूलता र आवश्यकतामा भन्दा पनि नागरिकको हितका लागि नीजि बिधेयकका रुपमा अगाडि सारिएको उहाँको भनाई थियो ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जाजरकोटलगायत कर्णालीका विभिन्न जिल्लामा घटेका प्राकृतिक विपद्का घटना, त्यसले पुर्याएको क्षति, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा देखिएका अन्यौलताहरु हटाएर सरकारलाई अगाडि बढाउन उहाँले सुझाउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्य दक्षिणा शाहीले दिनदहाडै भईरहेका महिलाहरु हिंसाका घटना न्यूनीकरण गर्ने परिणाममुखी कार्यक्रम कार्यान्वयनमा ल्याउन संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो । त्यस्तै, कृष्णबहादुर बिसी, बलिमाया बुढा, मिलन खड्का, उर्मिला विश्वकर्माले पनि मनसुनजन्य विपद्, प्रदेश कार्यसञ्चानका विधि, प्रक्रिया र बजेट कार्यान्वयनका बारेमा आफ्ना धारणा राख्नुभयो ।
विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले बैठकमा समसामयिक विषयमा उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ दिन कर्णाली प्रदेश नियमावली २०८१ नियम १६ को उपनियम २ बमोजिम मुख्यमन्त्री मंगलबहादुर शाहीले सभामुख गुरुङले समय दिनुभयो । मुख्यमन्त्री शाहीले बैठकमा उठेका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको र आवश्यकता एवं प्राथमिकताका आधारमा सरकारले आफ्ना काम कारवाही अगाडि बढाउने बताउनुभयो ।
प्रदेशसभाको अर्को बैठक यही भदौ ११ गते बिहीबार दिउसो ३ः०० बजे बस्ने सभामुख गुरुङले जानकारी दिनुभयो ।





