
२७ साउन २०८३, बुधबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतमा आयात भएका खाना पकाउने ४४ हजार ५०० एलपी ग्याँस सिलिण्डर वितरण गरिएको छ ।
साउन १ गतेदेखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्याँस डिलर कम्पनीबाट १४ दशमलव २ केजीका ४४ हजार ५०१ एलपी ग्याँस सिलिण्डर बिक्री वितरण गरिएको हो । नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपक घिमिरेका अनुसार भेरी ग्याँसको मात्र २७ हजार ६२६ ग्याँस सिलिण्डर वितरण गरिएको छ ।
त्यस्तै, नेपाल ग्याँस कर्णाली पाँच हजार ७८, सैपालको चार हजार ४६५, राप्तीको दुई हजार ८००, रेडियन्टको दुई हजार ७३० र मनकामना कम्पनीका एक हजार ८०२ ग्याँस सिलिण्डर बिक्री वितरण गरिएको उहाँले बताउनुभयो । प्रमुख घिमिरेले भन्नुभयो, “साउन मसान्तसम्म सुर्खेतमा थप पाँच हजार ग्याँस सिलिण्डर आयात गर्नुपर्ने देखिन्छ । यो महिनामा ५० हजार ग्याँस वितरण हुन्छ । यो इतिहासकै उच्च आयात हो ।”
यही आईतबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बसेको सर्वपक्षीय बैठकबाट अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी र समस्यामा परेका व्यक्तिहरुका निम्ति हरेक डिलरबाट दश प्रतिशत ग्याँस सिलिण्डर छुट्याएर उनीहरुलाई उपलब्ध गराउने व्यवस्थाले राहत पुगेको निगम सुर्खेतले जनाएको छ ।





