८ साउन २०८३, शुक्रबार
सुर्खेतः प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै नेका–नेकपाले सहकार्यमा नयाँ सरकार बनाउने तयारी गरेका हुन् । गत असार ३१ गते सत्तासाझेदार दल नेपाली काँग्रेसका चार मन्त्रीहरुले सरकारबाट राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कँडेलविरुद्ध ३२ गते काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै नेकपाका ११ र काँग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश गरेका थिए ।
उक्त प्रस्ताव पेश गरेको एक हप्तापछि सभामुख नन्दा गुरुङले हिजो ७ गते बैठक बोलाउनुभएको थियो । सभामुख गुरुङले बिहीबार बस्ने भनिएको बैठक विशेष कारणवश निर्धारित दिनमा बस्न नसकेको सूचना सार्वजनिक गर्दै साउन ९ गते दिउसो ३ः०० बजे हुने जानकारी गरेपछि बैठक धकेलिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले असार ३२ गते प्रदेशसभा सचिवालयमा पेश गरेको मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावका पक्षमै मतदान गरेर नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो ।
“केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच नयाँ सत्ता समीकरण भइरहेको भन्ने अनुमानित समाचार भरमा होइन, हामी आफ्नो निर्णयका आधारमा अगाडि बढ्छौं,” उहाँले भन्नुभयो, “अब काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता शाही नेतृत्वको सरकार गठन हुन्छ । नेकपाले त्यो भन्दा अरु फरक कुनै देखेको छैन र संभव पनि हुँदैन ।”
नेपाली काँग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले नेकपासँग भएको समझदारीका आधारमा नै काँग्रेस अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपाकै समर्थनमा हाम्रो दलको नेतालाई सरकारको नेतृत्व गर्ने सहमतिबाट मुख्यमन्त्री प्रस्ताव गरेर अगाडि बढिएको हो । अब छिट्टै काँग्रेस र नेकपाको समीकरणमा नयाँ सरकार गठन हुन्छ ।”
कर्णाली प्रदेशसभामा हाल ४० सदस्यहरु छन् । सभा सदस्यहरुको यो अंकगणितलाई अध्ययन गर्दा काँग्रेस–नेकपाको पक्षमै छ । सरकार गठन गर्न ४० सदस्यीय प्रदेशसभा सदस्य मध्ये २० सदस्य आवश्यक पर्छ । काँग्रेससँग १५ र नेकपासँग १४ सदस्य रहेकाले दुवै दलको गठबन्धनको सरकार बनाउन सहज बहुमत छ । केन्द्रीय निर्णयको प्रभाव नरहेसम्म त्यही अंकगणितका आधारमा काँग्रेस–नेकपा नयाँ सरकार बन्नेमा ढुक्क छन् ।




