
७ साउन २०८३, बिहीबार
सुर्खेतः सुर्खेतमा ग्याँसको चरम अभाव बढ्दै गएपछि उपभोक्ताहरुलाई चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको छ ।
भेरी, राप्ती, मनकामना, रेडियन्टलगायतका ग्याँस सुर्खेतमा आउने गरेपनि पछिल्लो समय यहाँ लाइनमा लागेर पनि उपभोक्ताले सहजै रुपमा ग्याँस पाउन नसक्ने अवस्था सिर्जना भएको छ । निरन्तर चार दिनसम्म धाएर पनि आफुले ग्याँस पाउन नसकेको स्थानीय उपभोक्ता शर्मिला बुढाले पीडा पोख्नुभयो ।
“ग्याँस लिन राति २ः०० बजेदेखि लाईनमा लागेपनि पाउन सकिएन,” पीडा पोख्दै बुढाले भन्नुभयो, “यहाँ त पहुँच र पावर भएकाले मात्र ग्याँस पाउने गरेका छन् ।” प्रति भरि सिलिण्डर रु.दुई हजार ६० पर्ने सिलिण्डर रेटेलर व्यापारीहरुले रु.दुई हजार ४०० सम्म बिक्री गर्ने गरेको र त्यही मूल्यमा पनि ग्याँ पाउन पनि धौ–धौ आफुहरुलाई भएको उहाँले दुखेसो गर्नुभयो ।
ग्याँस अभावबारे प्रशासनलगायत सरोकारवाला निकायहरुको टिप्पणी र आलोचना भएपछि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की नेतृत्व, नेपाल आयल निगम, उद्योग बाणिज्य, उपभोक्ता हित मञ्च, राजनीतिकर्मी तथा पत्रकार सञ्चारकर्मीहरुको टोलीले अभावको वास्तविकताका सम्बन्धमा भेरी ग्याँसलगायतका कम्पनी तथा डिलरहरुमा अनुगमन गरेको थियो ।
उक्त अनुगमनका क्रममा बजारमा ग्याँसको माग उच्च तथा आपूर्ति निकै कम भएपछि यसको अभाव भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ विभिन्न ग्याँस प्रयोग हुने गरेपनि अहिले उपभोक्ताका लागि भेरी ग्याँसले मात्र वितरण गरिरहेको छ । आज मात्र एक हजार १०० आएको छ भने भोलि एक हजार ८०० ग्याँस आउँदैछ । प्रहरी प्रशासनको निगरानीमा कोही नदोहोरिने गरी सहज तरिकाले उपभोक्ताले पाउने वातावरण हामी बनाउँछौं ।”
सुर्खेतमा खास कति सिलिण्डर उपभोक्तालाई चाहिन्छ त भन्ने एकिन तथ्याङ्क नहुदा वितरण कार्य व्यवस्थित हुन नसकेको उहाँले जनाउनुभयो । कम्पनीबाट रु.दुई हजार ६० मा खरीद गरी उपभोक्ताहरुलाई रु.दुई हजार ४०० मा ग्याँस बिक्री गर्ने आरसी सप्लायर्सलगायतका सुर्खेतका रिटेलरहरुबाट रु.४०० उपभोक्तालाई फिर्ता गर्न लगाइएको सप्रजिअ कार्कीले बताउनुभयो ।





