
२८ असार २०८३, आईतबार
सुर्खेतः कृषि विकास निर्देशनालय सुर्खेतले यहाँका तीन कृषकलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ ।
निर्देशनालयले आज मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण आयोजना गरी तीन कृषकलाई पुरस्कार प्रदान गरेको हो । कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ कृषि र प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने तीन कृषकलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।

निर्देशक रोकायले कृषकहरुमा भेरीगंगा नगरपालिका ११ सुर्खेतस्थित बायोग्रिन एग्रो प्रा.लि.का सञ्चालक समीर खत्रीलाई रु.३० हजार नगदसहित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको जनाउनुभयो । त्यस्तै, लेकबेसी नगरपालिका ३ सुर्खेतस्थित कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक अमित चलाउनेलाई रु.२५ हजार र वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित कर्णाली ड्रागन कृषि तथा पशुपन्छी फर्मका सञ्चालक सुमन सुवेदीलाई रु.२० हजार नगदसहित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले कृषि क्षेत्रलाई सम्मानजनक, आम्दानीमुखी र दीगो व्यवसायका रुपमा विकास गर्नतर्फ प्रदेश सरकारले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकहरुलाई कृषिमा उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजन, यान्त्रिकीकरण, सिँचाइ सुविधा, प्रशोधन तथा बजारीकरणमा विशेष ध्यान दिएका छौं ।”

निर्देशक रोकायले गर्ने कृषकहरुका लागि सरकारले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । कर्णाली अन्य प्रदेशका हिसाबले माटो कम बिरामी भएको प्रदेश हो भन्दै उहाँले यहाँ उत्पादन हुने अन्नबाली नेपाली बजारमा अत्यधिक माग भइरहेको जनाउनुभयो । कृषि विना मानव अस्तित्व संकटमा पर्ने जनाउँदै कृषकहरुलाई प्रोत्साहन मिल्ने र उत्पादन बढाउने कार्यक्रममा जोड दिनुपर्ने औंल्याउनुभयो ।




