
२२ जेठ २०८३, शुक्रबार
सुर्खेतः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौ अधिवेशनको आज बसेको आठौं बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको थियो । सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली, २०८१ नियम ३९ को उपनियम ४ बमोजिम मुख्यमन्त्री यामलाल कँडेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभासमक्ष प्रस्ताव पेश गर्न समय दिनुभयो ।
मुख्यमन्त्री कँडेलले सभासमक्ष सो प्रस्ताव पेश गरेसँगै सभामुख गुरुङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷०८४ नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । बिहीबारदेखि नीति तथा कार्यक्रममाथिको छलफल सुरु भई आज करिब छ घण्टा लामो बैठकमा व्यापक छलफल भएको थियो ।
बैठकमा नेकपा कर्णाली प्रदेशसभा दलका नेता मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्यहरु बेदराज सिंह, टेकराज पछाई, बिन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, भीमप्रकाश शर्मा, खड्गबहादुर पोखरेल, लक्ष्मी सुनार, दक्षिणा शाही, रनसिंह परियार, तुलसा मल्ल, जानकी सिंह, बलिमाया बुढा, इन्द्राकुमारी शाहीलगायत २५ जना प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्नुभएको थियो ।
बैठकमा भाग लिने प्रदेशसभा सदस्यहरुले कर्णालीको बहुआमिक गरिबी घटाउने, मानव सुचाङ्क बढाउने, कृषि, पर्यटनको विकासमार्फत रोजगारी सिर्जना गर्न, सडक सञ्जाल जोड्ने र भई मान्छेहरुको आवश्यकता एवं समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाएका थिए । सभाको नवौं बैठक आगामी असार १ गते दिउसो ३ः०० बजे बस्ने सभामुख गुरुङले सूचना गर्नु गर्नुभयो ।





