OnlinePana

आज : २०८३ जेठ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०८३काठमाडौं
९ पटक

८ जेठ २०८३, शुक्रबार

ुसुर्खेतपश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बीउरेनी–खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । करिब चार वर्षसम्म सडक नबन्दा यसबाट पश्चिम सुर्खेतका तीन पालिकाका ७५ हजार भन्दा बढी नागरिकहरुले दुःख भोग्दै आएका छन् ।

उक्त सडक निर्माणको जिम्मा लिएको अनक÷जयदेवी जेभी निर्माण सेवाले चार वर्ष लाग्दा समेत सडक निर्माणमा ढिलाई गरेपछि नागरिकले हिउँदो धुलो र वर्षामा हिलोमा हिड्नुपर्ने बाध्यता रहेको छ । सो जेभीले आर्थिक वर्ष ०७८÷०७९ मा दुई वर्षभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ बड्डीचौर–बीउरेनी–खम्बागाडे १३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो ।

“भ्याटसहित रु.४२ करोड लागत रहेको सडकमा अहिलेसम्म ४० प्रतिशत भौतिक र ३२ दशमलव २ प्रतिशत वित्तीय प्रगति भएको छ,” निर्देशक शाहीले भन्नुभो, “तोकिएको समयमै निर्माण कार्य हुन नसक्दा यहाँका तीन पालिकाका नागरिकहरु निर्देशनालयमा पुगेर गुनासो पोख्दै आएका छन् ।” सम्बन्धित निर्माण व्यवसायीको लापरवाहीका कारण यहाँका नागरिकहरुको आवागमनमा जटिलता पैदा भएको छ ।

निर्माण कम्पनीले तोकिएको समयमै कार्य सम्पन्न नगर्दा एक पटक म्याद थपिएको तर थपेको म्यादभित्र काम नसकेपछि अहिले सबै सरोकारवालाहरुलाई अलपत्र सडकमै स्थलगत अवलोकन गराएर काम गर्न दबाब दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सुरुमा भोगाधिकार स्वीकृति, रुख कटान, विद्युत लाईन व्यवस्थापन र संघीय सरकारबाट हुने निर्णय प्रक्रिया जस्ता प्रशासनिक तथा प्राविधिक ढिलाई कारण आयोजना प्रभावित भएपनि पछिल्लो समय सो कम्पनीले काममा गति दिन नसकेको हो ।

अब आगामी आर्थिक वर्ष ०८३÷०८४ को चैत मसान्तसम्म कार्य सम्पन्न गर्ने गरी म्याद थप्ने तयारी रहेको बताउँदै निर्देशक शाहीले उक्त तोकिएको समयमा काम सम्पन्न नगरे कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिनुभयो । निर्माणाधिनस्थलमा अब कुनै अवरोध नभएकोले नागरिकका समस्यालाई ध्यान दिएर कुनै आलटाल नगरी बेलैमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई उहाँले निर्देशन दिनुभएको छ ।

अनक÷जयदेवी जेभी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शंकर रावतले सुरुमा रुख कटान, भोगाधिकार, विद्युत लाईन व्यवस्थापनलगायतका जटिलताले काम रोकिएपनि अब त्यसमा सहजता भइसकेकोले काम नरोकिने बताउनुभयो । मध्यपूर्व एशियाको द्वन्द्वले इन्धन महंगो र पाउन गाह्रो भएकोले पछिल्लो समयमा सरकारले यसमा ध्यान पुर्याएर व्यवसायीका मर्का बुझिदिन उहाँले अनुरोध गर्नुभयो ।

यो जेठ मसान्तभित्र सडकमा साधन र मानिस दुवै सहज आवतजावत हुने गरी सडक निर्माण गरिने र आउने मनसुनले अवरोध नपुर्याउने प्रतिनिधि राउतले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दैनिक दुई हजार लिटर तेल खर्च हुने अवस्थामा अहिले मात्र ६०० लिटर पाइने भएकोले उपकरण सञ्चालनका लागि तेल उपलब्ध गर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारलाई सहजीकरणका लागि आग्रह गर्नुभयो ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्माले निर्माण व्यवसायीका कारण सुर्खेत पश्चिमका जनताले ठूलो क्षति भोग्नुपरेको रोष प्रकट गर्दै बेलैमा काम नसके जनधन दुवैको क्षति व्यवसायीले तिर्नुपर्ने चेतावनी दिनुभयो । पञ्चपुरी नगरपालिकाका प्रमखु लालबहादुर भण्डारीले अहिले काममा कुनै अवरोध नभएकोले निर्माण कार्य गर्ने कुरामा बाहना नगर्न सुझाउनुभयो ।

बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले चार वर्षसम्म पनि १३ किलोमिटर सडक बनाउन नसक्दा त्यसको दोष स्थानीय जनप्रतिनिधिले खेप्नुपरेको बताउनुभयो । सडक निर्माण जस्तो महत्वपूर्ण कामलाई निर्माण व्यवसायीको चरम लापरवाहीले अन्योलमा हुँदा यहाँका जनता हिलो र धुलोबाट पोतिनुपरेको उहाँले गुनासो पोख्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुसँग बसेर गरेको निर्णयले सडक निर्माणका सबै अवरोध हटाउँदा नि काम गर्न नसक्नु निर्माण कम्पनीकै कमजोरी रहेको बताउनुभयो । प्रमुख सुनारले निर्माण व्यवसायीले अब बाहना गर्ने कुनै ठाउँ नभएको भन्दै कम्पनीको उपकरण सञ्चालनका लागि आवश्यक इन्धन उपलब्ध गराउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

.

प्रतिकृया दिनुहोस्