
६ जेठ २०८३, बुधबार
सुर्खेतः नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नवीन शाही निर्वाचित हुनुभएको छ। आज वीरेन्द्रनगरमा सम्पन्न मञ्चको दोस्रो साधारण सभाबाट शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
मञ्चको उपाध्यक्ष रमा केसी, सचिवमा अप्सरा विष्ट, कोषाध्यक्षमा सिर्जना बुढाथोकी, सहसचिवमा नविन सुवेदी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा राकेश पौडेल (तिलक), टेकराज केसी, भावना राना र मिलन श्रेष्ठ निर्वाचित हुनुभएको छ । साधारण सभामा निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले खेलकुद पत्रकारिताको महत्व र जिम्मेवारी लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले कर्णालीमा खेलाडीहरुको राष्ट्रियस्तरमा पुर्याउने र खेलाडीको प्रोफाइल निर्माण लगायतका गतिविधिमा नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताउनुभयो । कर्णालीमा रहेका लोपोन्मुख र परम्परागत खेलकुद्को विकासका लागि कलम चलाउनुपर्ने बताउँदै आगामी दिनमा कर्णालीमा पल्सर अवार्ड गराउने समेत जनाउनुभयो ।
त्यस्तै, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नवीन लुइटेलले आसन्न दिनमा सुर्खेतमा हुन गरिरहेको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले समग्र खेलकुद र खेलाडीको बृद्दि विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण योगदान रहेको बताउँदै सुर्खेतमा खेल पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धि तालिम, फेलोसिप लगायतका गतिविधि सञ्चालन गर्न सुझाव दिए । त्यस्तै खेलकुद विकास परिषद्ले नै बजेट व्यवस्था गरेर खेलकुद क्षेत्रमा योगदान पुर्याएका पुराना खेलाडीहरुको खोजमुलक रिपोर्टिङ् लगायत खेलकुद पत्रकारिताको विकासका लागि योगदान गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले सुर्खेतको खेलकुद विकासका लागि विगतदेखि नै लामो समयदेखि रिपोटिङ गर्दै आएको बताउनुभयो । उहाँले मोफसलमा रहेर विधागत पत्रकारिता गर्न कठिन रहेको बताउँदै पछिल्लो समय सरकारले नै पत्रकारिता, मिडिया हाउस बन्द गराउन लागि परेको बताउनुभयो। प्रदेश सरकारको पनि केन्द्र सरकारकै सिको गरेर लोक कल्याणकारी विज्ञापन रोकेको टिप्पणी गर्नुभयो ।







