

२ फागुन २०८२, शनिबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन भएको ‘पिस एण्ड युनिटी रन’ प्रतियोगिताको उपाधि अर्जुन बुढा र बिमला कार्कीले प्राप्त गरेका छन् ।
महाशिवरात्री तथा सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसरमा उत्तर पश्चिम पृतना निमारे ब्यारेक सुर्खेतद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘पिस एण्ड युनिटी रन’ मा डोल्पा बुढाले पुरुष १० किलोमिटर दौड खुलातर्फ ३१ मिनेट १७ सेकेन्डमा दुरी पार गरी प्रथम हुनुभएको हो । महिलातर्फ कार्कीले ४१ मिनेट ३ सेकेन्ड उक्त दूरी पुरा गरी प्रथम हुनुभएको थियो ।
यसैगरी, ३३ मिनेट ४५ सेकेन्डमा पूरा उक्त दूरी पार गरी पुरुषतर्फ आशिष गुरुङ र ४१ मिनेट १० सेकेन्डमा सोही दूरी पार गरी महिलातर्फ गीता खड्का द्वितीय हुनुभएको छ । सोही दूरीको दौडमा मुकेश शाही र करुणा ऐडी तृतीय हुनुभयो । १० किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु.तीस, बीस र दश हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै, पाँच किलोमिटर छात्रातर्फको दौड प्रतियोगितामा चन्द्रा बुढाले प्रथम उपाधि हाँसिल गर्नुभयो । उहाँले पाँच किलोमिटरको दूरी २३ मिनेट ३ सेकेण्डमा पार गर्नुभभएको थियो । २५ मिनेट १ सेकेन्डमा उक्त दूरी पूरा गरी संस्कृति सापकोटा द्वितीय र २४ मिनेट ९ सेकेडमा सो दूरी पार गरी दीपा कठायत तृतीय हुनुभयो । सो दौडमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु.१५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो
राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने ध्येयले सञ्चालन गरिएको लामो तथा छोटो दूरीको उक्त दौड प्रतियोगितामा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसहित नेपाली सेनाका सहायक रथी प्रशान्तबिक्रम राना, सुरक्षा अधिकारीहरु, कर्णाली सरकारका प्रदेश सचिवहरु, सरकारी तथा गैर सरकारी एवं नीजि क्षेत्रका प्रमुखहरुले वाकथुन (पैदलयात्रा) गर्नुभएको थियो ।












