OnlinePana

आज : २०८२ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ९, २०८२
८२ पटक

९ असोज २०८२, बिहीबार

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको संकटका विषयमा सबै दलहरु एक ठाउँमा आएर निर्मम समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । आगामी भविश्यका बारे बेलैमा नसोचे अँझ देशले खतराको सामना गर्नुपर्ने जनाउँदै उहाँले यसमा नेपाली काँग्रेसले गम्भीर समीक्षा गरेर अगाडि बढ्ने बताउनुभयो ।

पूर्वउपप्रधान तथा रक्षामन्त्री रहेका खड्काले विध्वंसकारीहरुको घुस पैठका कारण देशले इतिहासमा अपुरणीय क्षति व्यहोर्नुपरेको बताउनुभयो । हतिायार, विष्फोटक पदार्थ, बम, केमिकलसहित लामो समयदेखि ठूलो तयारी गरेर नेपाल राज्यमाथि ध्वंस गर्ने नियतका साथ लागेकाहरुले चार घण्टामा देशभरिका राष्टिय तथा सार्वजनिक सम्पति, उद्योग धन्दा, नेता, व्यक्तिको धन दौलत नष्ट गरेको उहाँको भनाई थियो ।

उपसभापति खड्काले भन्नुभयो, “षड्यन्त्रकारीहरुको ध्वंसात्मक कार्यले आज जेनजी पुस्ताका भाई बहिनीहरुले ज्यान गुमाउनुभयो । नेपालको नक्सामाथि जुत्ताले हानेका दृश्यहरुबाट पनि बुझ्न सकिन्छ कि जेनजी आन्दोलनका नाममा के के भएको थियो ? सरकारले छानबीन आयोग गठन गरिसकेकोले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । यसरी जेनजी आन्दोलनलाई कब्जामा लिएर राष्ट्रिय तथा सार्वजनिक सम्पतिसहित ठूला उद्योग, होटल, व्यापारी केन्द्र, नेतासहित व्यक्तिका घरहरु समाप्त पार्ने दोषीहरुलाई कारवाही र क्षतिको पूर्ति गराउनतर्फ सरकार लाग्नुपर्दछ ।”

चुनाव गर्ने दिनको घोषणा भइसकेको बताउँदै उहाँले चुनावदेखि काँग्रेस नभाग्ने तर यसका लागि सरकारले सही वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । जेनजी पुस्तासहित सबै दलहरुले अब देश पुनः निर्माण गर्नुपर्ने बेला आएको जनाउँदै उपसभापति खड्काले भन्नुभयो, “अब यो त्रासदी, ध्वंस र पीडाबाट व्यक्ति, पार्टी र सिंगो देश माथि उठ्नुछ, उठाउनुछ । देशमा अरबौंको क्षति भएको छ । शून्यबाट सयमा पुग्न हामी सबैले पुनः पसिना बगाउने र मुलुकलाई माथि उठाउने बेला आएको छ ।”

यसको साथै उहाँले वीरेन्द्रनगर नगरपालिका ७ ईत्राम सुर्खेतस्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएर पूर्णरुपमा ध्वस्त भएको आफ्नो घर, कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय सुर्खेतको निरीक्षण गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्