OnlinePana

आज : २०८२ भाद्र १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १८, २०८२
१५ पटक

१८ भदौ २०८२, बुधबार

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले योग्यता र सक्षमताका हिसाबले कर्णालीको अवस्था निराशाजनक नरहेको बताउनुभएको छ ।

लोक सेवा आयोग केन्द्रीय कार्यालयद्वारा आयोगको हीरक जयन्तीको अवसरमा लोक सेवा आयोग पहुँच अन्तरगत सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘विधार्थीमाझ लोक सेवा आयोग कार्यक्रम’मा बोल्नुहुँदै अध्यक्ष रेग्मीले देशभरिमा आयोगको उत्कृष्ट दशभित्र कर्णाली पर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार सिफारिस भएको उम्मेदवारको जिल्लागत तथ्याङ्क हेर्दा दैलेख सातौं, सुर्खेत तेह्रौं, रुकुमपश्चिम चौधौं, जुम्ला बीसौं, सल्यान ४१औं, कालीकोट ४३औं, जाजरकोट ४७औं, हुम्ला ६३औं, मुगु ७१औं र डोल्पा ७२औं स्थानमा रहेको छ ।

अध्यक्ष रेग्मीले भन्नुभयो, “लोक सेवा आयोग विद्यार्थीमाझ पुर्याएर यसको पद्धति प्रक्रियाबारे जानकारी गरी आयोगप्रति धारणा सकरात्मक विकास गराउने उद्देश्यले यो कार्यक्रम देशैभरि गरिएको हो । आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको सिद्धान्त अनुसार अगाडि बढ्ने भएकोले यसमा भनसुन हुन्छ भन्ने भ्रम नराख्नुस् । दबाब र प्रभावबाट मुक्त हुन अरु सुतेपछि आयोग जाग्दछ ।”

कार्यक्रममा सहभागी दश जिल्लाका सदरमुकाम केन्द्रित पालिका प्रमुखलाई जिल्लामा गएर आयोग सम्बन्धी गोष्ठी सञ्चालन गर्न सुझाउँदै उहाँले देशका सात सय ५३ पालिका र सात हजार वडासम्म आयोगबारे जानकारी दिन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष रेग्मीले आजको कार्यक्रमबाट सिकेका कुराहरु विद्यालयमा पुगेर प्रधानाध्यापकसँगको समन्वयमा सबैलाई बताउन सहभागी विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा आयोग केन्द्रीय कार्यालयका सहसचिव पुरुषोत्तम शर्माले आयोगको स्थापना, कार्य प्रकृति, काम, कर्तव्य र अधिकारका बारेमा आफ्नो प्रस्तुति राख्दै योग्यता, निष्पक्षता, स्वच्छता, पारदर्शिता, गोपनीयता, समान अवसर, समावेशिता र परिचय शून्यतामा रहेर यसले काम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा आयोगले अप्टिकल मार्क पहिचान (ओएमआर) प्रविधिको प्रयोग गर्दै आएको छ ।

उक्त कार्यक्रममा लोक सेवा आयोग सुर्खेतका कार्यालयका प्रमुख (सहसचिव) रुद्रबहादुर कार्कीले आयोगको सुर्खेत कार्यालयको लिखित परीक्षा सञ्चालन गर्ने कार्य क्षेत्र, सहसचिव र उपसचिव कार्यालय प्रमुख हुने कार्यालयका कार्य विवरण, कार्य प्रक्रिया र हालसम्म भएका कार्यसम्पादन, प्रगति र राखिएका अपेक्षाका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । विषय विज्ञ तारकबहादुर केसी र देवीदत्त भट्टले सहभागी विद्यार्थीहरुलाई आयोगले सोध्ने प्रश्नावली, यसको प्रक्रिया र अध्ययनशैलीका बारेमा सहजीकरण गर्नुभयो ।

उक्त कार्यक्रममा आयोगका सदस्य दिनेश सिलवाल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, विश्वविद्यालयका रजिष्ट्रार शोभाखर कँडेल, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, कर्णालीका दश जिल्लाका दश पालिका प्रमुख, २० छात्रा र ३० छात्रहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्