OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ५, २०८२
५४६ पटक

५ भदौ २०८२, बिहीबार

सुर्खेतः नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश कार्य समिति सुर्खेतले महासंघ विरुद्ध भईरहेका गतिविधिमा भ्रमित नहुन सदस्यहरुलाई आग्रह गरेको छ ।

महासंघ कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष गोमकुमारी खड्का (ओली) तथा महासचिव बर्म ऐडीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत महासंघ विरुद्ध भएका गतिविधिले ध्यानाकर्षण भएको बताइएको छ । विसं.२०७५ असोज २० गते सम्पन्न पाँचौ सुर्खेत जिल्ला अधिवेशनबाट सुमननाथ योगीको अध्यक्षतामा जिल्ला कार्य समिति निर्वाचित भई विसं.२०७८ असोज २० गते पदावधि समाप्त भइसक्दा पनि हाल आफू अध्यक्ष हो भन्दै महासंघ सुर्खेतको नामबाट योगीले गरेको गतिविधि विधान विपरीत भएको प्रष्ट हुन विज्ञप्तिमार्फत जानकारी गरिएको छ ।

त्यसैगरी, विसं. २०७९ माघ २० देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा भएको दोस्रो राष्टिय औद्योगिक व्यापार, कृषि नवीनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव, २०७९ मा आर्थिक हिनामिना भएको भनि निवर्तमान अध्यक्ष योगीले लगाएको आरोपमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ । उक्त महोत्सवमा उठेको रकममाको आय व्यय प्रष्ट राखी साधारणसभाबाट अनुमोदन भइसकेकोले त्यसमा भ्रममा नपर्न समेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

बरु मेलाको खाता सञ्चालक सदस्य तथा प्रदेश कार्य समितिको निवर्तमान उपाध्यक्ष बीरबहादुर नेपालीले उक्त मेलाबाट उठेको रकम न्यू भेरी ईञ्जिनियरिङ वक्र्सको नाममा चेक रकम लिई हालसम्म फिर्ता नगरी उल्टै महासंघ विरुद्धका गतिविधिहरुमा सक्रिय भई विधानको हित विपरीत कार्य गर्दै हिडेको देखिएको छ । यसो हुनुमा केन्द्रका केही व्यक्ति महासंघमा फाटो ल्याई नीजि स्वार्थ पुरा गर्ने दौडानमा लागेका कारण भएको बताईएको छ ।

साथै विज्ञप्तिमार्फत विसं.२०८२ जेठ २ गते महासंघको विधान अनुसार महासंघ कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बुढाक्षेत्री र महिला समितिका अध्यक्ष गोमाकुमारी खड्का (ओली)को अध्यक्षतामा रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रीय उपाध्यक्ष पूर्ण भण्डारीको विशेष आतिथ्यता एवं केन्द्रीय उपाध्यक्षहरु मुकेश उपाध्याय, शोभा गुरुङ, हरिहर थापा, केन्द्रीय सदस्य विनोददेव पन्त र रामबहादुर खड्काको उपस्थितिमा नेपाल घरेलु तथा साना उद्योग महासंघको कर्णाली प्रदेशको तेस्रो प्रदेश अधिवेशन विधिसम्मत सम्पन्न भएको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्