

१ भदौ २०८२, आईतबार
सुर्खेतः कर्णाली प्रदेशका दश जिल्लाका २५ कृषि तथा पशु प्राविधिकहरुलाई पर्यावरणीय कृषिसम्बन्धी तालिम प्रदान गरिएको छ ।
कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन तालिम केन्द्र कर्णाली प्रदेश र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) पोखराको आर्थिक तथा प्राविधिक साझेदारीमा पर्यावरणीय कृषि तथा अभ्यासहरु सम्बन्धी छ दिने तालिम दिइएको हो । पर्यवरणीय कृषिको सिद्धान्त र अभ्यासहरुलाई कृषकस्तरमा कार्यान्वनका लागि सरकारी कृषि प्रसार प्राविधिकहरुको ज्ञान, सीप क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिइएको (लि–बर्ड) कर्णाली प्रदेशका संयोजक बुद्ध विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा पर्यावरणीय कृषिका वातावारणीय, सामाजिक र आर्थिक पाटोका साथै यसका सैद्धान्तिक र व्यावहारिक पक्षहरुमा सुक्ष्मरुपमा छलफल गरिएको थिायो । त्यस्तै पर्यावरणीय कृषिका सिद्धान्तहरु, कृषि जैविक विविधता विश्लेषण र औजार, जैविक स्रोतमार्फत पोषण व्यवस्थापन, रोग कीरा नियन्त्रणका जैविक तरिका, पुनः प्रयोग र खेती प्रणाली पशु प्रजनन्, परागसेचक व्यवस्थापन, तथा जैविक प्रमाणीकरण र बजार प्रवद्र्धनबारे मन्त्रालय र लिबर्डका विज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण गरिएको थियो ।
उक्त तालिममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले कर्णाली प्रदेशको सन्दर्भमा पहिलो पटक मन्त्रालय मातहतका कर्मचारीहरुको क्षमता अभिवृद्धिमा विशेष साझेदारी गरेको भन्दै लिबर्डलाई धन्यवाद ज्ञापन गर्नुभयो । तालिमका सहभागीहबाट आफ्नो कार्यक्षेत्रमा कृषि पारिस्थितिकीलाई एकीकृत गर्दै “सहभागितामूलक समुदाय योजना” तयार गरिएको थियो ।
रणनैतिक साझेदारको रुपमा प्रदेशको नीति तथा कार्यक्रमहरुलाई सहयोग गर्न परियोजना र कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउदै कर्णाली प्रदेशमै पहिलो पटक सरकार र गैरसरकारी संस्थाको साझेदारीमा सञ्चालन भएको तालिम सहकार्य र समन्वयको यो उत्कृष्ट उदाहरण उहाँले बताउनुभयो ।
कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका प्रमुख धनबहादुर कठायतले मन्त्रालय र विकास साझेदारसँग रहेको विज्ञता र स्रोतहरु प्रदेशको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समुचित परिचालन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले संयुक्त प्रयासबाट साविक भन्दा बढी परिणाम हासिल गर्न सकिने जनाउनुभयो ।
तालिममा छलफल गरिएका विषयवस्तु र प्रशिक्षण विधि प्रभावकारी रहेकोले समग्रमा तालिम अत्यन्तै उपयोगी, ज्ञानवद्र्धक र व्यवहारिक भएको प्रतिक्रिया सहभागीहरुले दिएका छन् । फरक फरक सेवा क्षेत्र कृषि, पशु, वनबाट सहभागिता रहेको र दीगो खाद्य उत्पादन प्रणालीका लागि कृषि, पशु र वन क्षेत्रले एकीकृत रुपमा काम गर्नुपर्ने भएकाले साझा बुझाई र सहकार्य विकास गर्न तालिम फलदायी रहेको जनाइएको छ ।