OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ३०, २०८२
२८९ पटक

२९ साउन २०८२, बिहीबार

नेपाल घरेलु तथा साना उद्याेग महासंघ कर्णाली प्रदेश कार्य समिति सुर्खेतले महासंघको विधान विपरीत कार्य तत्काल रोक्न माग गरेको छ ।

महासंघ कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष गोमकुमारी खड्का (ओली)ले आज सुर्खेत वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत महासंघको केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंह र महासचिव डम्मरप्रसाद रेग्मीलाई विधान विपरीत स्वेच्छाचारी ढंगबाट काम नगर्न अनुरोध गर्नुभएको छ । केन्द्रीय नेतृत्वले गलत मनसाय राखेर महासंघ प्रतिवद्ध उद्यमी तथा अभियान्ताहरुको मानमर्दन गर्दै सम्पन्न प्रदेश अधिवेशनलाई अवैध ठहर्याउन दुश्प्रयास गरेको बताउनुभयो ।

उहाँका अनुसार विसं.२०८२ जेठ २ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका प्रमख पुष्प वादीको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रीय उपाध्यक्ष पूर्ण भण्डारीकाे विशेष आतिथ्यता एवं केन्द्रीय उपाध्यक्षहरु मुकेश उपाध्याय, शोभा गुरुङ, हरिहर थापा, केन्द्रीय सदस्य विनोददेव पन्त र नौ जिल्लाका जिल्ला अध्यक्ष, महासचिव र प्रदेश प्रतिनिधिहरुको सहभागितामा सम्पन्न अधिवेशनबाट विधिसम्मत आफू नेतृत्वको महासंघको कर्णाली प्रदेश कार्य समिति निर्वाचित भइसकेको छ ।

महासंघको विधान बमोजिम महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा अध्यक्ष सिंहलगायत केही पदाधिकारीले पालिका, जिल्ला समिति र मधेश प्रदेश बाहेक अन्य छ वटै प्रदेश कार्य समितिको अधिवेशन सम्पन्न भई सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा विधान विपरीत मधेश प्रदेशलाई अधिवेशन नगर्न मौखिक आदेश दिने, अधिवेशन सम्पन्न गरेका प्रदेशलाई महाधिवेशनमा भाग लिन नपाउने प्रपञ्च रच्ने, धम्की दिने कार्यले गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

विधानको दफा ११ (२) को ख पालना नगरेको प्रति प्रश्न गर्दै अध्यक्ष ओलीले कुनै दुविधा वा शंका भए विधान बमोजिम उचित सफाई पेश गर्ने अवसरबाट बञ्चित गर्न खोजिएको दोषारोपण गर्नुभयो । आफू र आफ्नो नेतृत्वको समुह हार्ने कमजोर मानसिकता राखेर अध्यक्ष र महासचिव दुवैले अनेक बाहना गरी नियोजितरुपले गरिएका विधान विपरीतका गतिविधि बन्द गर्न आग्रह गर्नुभयो । साथै आगामी भाद्र १९ गतेभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुरुप सबै जिल्लाका वर्तमान कार्य समिति र महाधिवेशन प्रतिनिधिहरुलाई कुनै भ्रममा नपर्न सूचना गरिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्