

२८ साउन २०८२, बुधबार
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नागरिकको स्वास्थ्य समस्या समाधानमा विशेष प्राथमिकता दिएको छ । मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने र फर्किने क्रममा हुने आर्थिक अभाव परिपूर्ति गर्न सरकारले सहयोग गर्ने भएको हो । सरकारले ‘विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च’ कार्यक्रम सञ्चालन गरेको छ ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले चालु आर्थिक वर्ष २०८२÷०८३ मा बेसाहारा, असहाय र विपन्नहरुलाई यातायात खर्च सुविधा उपलब्ध गराई स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनुभयो । “जसको कोही छैन, उसका लागि सरकार छ भन्ने अनुभूति नागरिकलाई गराउन चाहान्छांै,” उहाँले भन्नुभयो, “यसले विपन्न, असहाय र बेसाहारा नागरिकहरुलाई मलमपट्टि लगाउनेछ ।”
मन्त्री भण्डारीका अनुसार प्रदेश अस्पताल सुर्खेत उपचार गर्ने क्रममा दुर्गमता र भौगोलिक विकटताका कारण आर्थिक अभावले अस्पताल आउन र जान समस्या परेका नागरिकलाई दूरीका आधारमा रु.पाँच हजारदेखि २० हजारसम्म यातायात सुविधा खर्च प्रदान गरिनेछ । यद्यपि सेवाग्रहीले भने वडाको सिफारिस र अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस गरेको पत्र लिएर मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।
चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि रु.२५ लाख बजेट छुट्याइएको र आवश्यकताका आधारमा बजेट थप्ने जनाउँदै उहाँले कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी वर्षमा दशै जिल्लाका अस्पतालहरुबाट भुक्तानी दिने प्रबन्ध मिलाउने जनाउनुभयो । मन्त्रालयका सचिव संयोजकत्वको चार सदस्यीय समितिले स्वीकृत निर्देशिका बमोजिम तोकिएका जिल्लाबाट आउने बिरामीहरुको रोगभारका आधारमा रकम बाँडफाँड गरी भुक्तानीका लागि निर्णय गर्नेछ ।
उक्त रकम पाउनका लागि लाभग्रहीले वडाको सिफारिस, नजिकका हकवालाको बैंक खाता, मृतकको हककमा मृत्यु प्रमाणपत्र र नजिकको हकवालाको बैंक खातासहित मन्त्रालयमा निवेदन दिनुपर्ने जनाइएको छ ।