

नेत्र शाही /जुम्ला,
साउन २ गते । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित कमला बुढाको तिनतले घरमा आगालागी भएको छ । बिहीबार राति अन्जादी १ बजेको समयमा रहस्यमय ढंगले आगलागी भएको छ । आगलागीबाट घरको तल्लो तलामा रहेका दुई कोठा जलेर नष्ट भएको भने माथील्लो कोठामा समेत आंशिक क्षति भएको छ ।
आगलागीबाट घरको सटर भाडामा लिइ मोबाइल पसल सञ्चालन गर्दै आएका जीवन महताराको विहानी मोवाईल रिपेरिङ सेन्टरमा रहेका सामान पूर्ण रूपमा जलेका छन् । उहाका अनुसार केही मोवाईल भेटिएका छैनन । प्रत्यक्षदर्शीहरूका अनुसार राति एक्कासी ठूलो आवाज आएको थियो, त्यसपछि स्थानीय बासिन्दाहरू बाहिर निस्कँदा पसलको सटर सडकमा थियो । आगो नियन्त्रणमा लिईएको थियो । राति झण्डै १ः३० बजे आगलागीको बिषयमा जानकारी भएपछि सोही घर सुतेका तारा बहादुर वुढा, श्रीमति र छोरी भाग्न सफल भएका थिए । प्रत्यक्षदर्शी तारा बुढाले आगलागी भएपछि स्थानीय, प्रहरी, शशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । उहाँका अनुसार अनुमानित रु आठ लाखको क्षेति भएको छ तर क्षेतिको बिबरण जिल्ला प्रहरीमा एकिन गर्ने तयारी भईरहेको छ ।
आगलागी क्षेत्रमा डिजेलको गेलान भेटियो :
स्थानीयहरूको भनाइ अनुसार, कोही अज्ञात व्यक्तिले पसल चोरी गरेपछि सटर निकालेर भागेको हुनसक्ने अनुमान गरिएको छ । पसलको ढोका सटर नजिकको भागमा न काठ जलेको छ, न सिसामा धुवाँ लागेको छ । जसले गर्दा सो स्थानमा आगो लागेको प्रमाण भेटिएको छैन । घरको पछाडिको गल्लीमा रहेको च्यानल गेट खुला रहेकोले त्यहीँबाट पसलमा प्रवेश गरिएको हुन सक्ने आशंका गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असिम हमालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उहाँका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा आगलागी भएको घर नजिक भित्र डिजेलको गेलान भेटिएको छ । तर अहिलेसम्म त्यो डिजेल कसको हो भन्ने खुलेको छैन । उहाँका अनुसार क्षेतीको बिवरण आउन बाँकी छ । प्रहरीले घटनामा संलग्न दोषी पत्ता लगाउन कुनै कसर बाँकी नराख्ने बताएको छ । यता स्थानीय बासिन्दाहरूले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अपराधमा संलग्न व्यक्तिलाई तत्काल कारबाहीको माग गरेका छन् ।
क्याप्सन :जुम्लाको कालेखोलीमा रहेको मोवाईल पसलमा आगलागी पछिको क्षेति तस्बिर नेत्र शाही /जुम्ला ।