OnlinePana

आज : २०८२ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ११, २०८२
१३ पटक

९ जेठ २०८२, शुक्रबार

जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित तीन जिल्लाका १६ जना छात्राहरुलाई छात्रवृति वितरण गरिएको छ ।

ती जिल्लामा कक्षा एकदेखि दशसम्म अध्ययनरत छात्राहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा आज जाजरकोट खलंगामा एक कार्यक्रम गरी श्री ज्योति फाउण्डेसनले छात्रवृति वितरण गरेको हो । गत शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्राहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको बताउँदै फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले कक्षा दशसम्म अध्ययन गर्ने छात्राहरुलाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने बताउनुभयो ।

“कक्षा एकदेखि दशसम्मका १६ जना छात्राहरुलाई अघिल्लो शैक्षिकसत्रदेखि छात्रवृत्ति वितरण गर्दै आएका छौं,” उहाँले भन्नुभयो, “यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनेछौं ।” अध्यक्ष कटुवालका अनुसार फाउण्डेसनले रुकुमपश्चिमको सानीभेरी गाउँपलिका, चौरजहारी र आठबीसकोट नगरपालिका तथा जाजरकोटको भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई÷दुई जना छात्रालाई जनही दश हजारका दरले स्टेशनरी, स्कुल पोशाक, झोलालगायतका सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।

उहाँले सांगीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाका छात्राहरुलाई वितरण सुरु गरिएको छात्रवृत्ति आगामी दिनमा कर्णालीका १० वटै जिल्लाहरुमा पुर्याउने बताउनुभयो । छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै भेरी नगरपालिका १ जाजरकोटका वडाध्यक्ष दीपक रानाले यसले छोरीको शैक्षिक प्रगति र सशक्तिकरणमा सघाउने बताउनुभयो ।

सानीभेरी गाउँपालिका १ रुकुमपश्चिमका वडाध्यक्ष टेकबहादुर पुनले भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा लगानी आवश्यक रहेको बताउँदै जोखिममा परेका बालबालिकाहरुलाई फाउण्डेसनले गरेको सहयोग महत्वपूर्ण भएको जनाउनुभयो । अध्यक्षद्वयले छात्रवृति कार्यक्रमले छोरीहरुलाई पढ्नका लागि प्रेरणा प्रदान गर्न महत्वपूर्ण खेलेको र छात्राहरुले पढाईमा पनि राम्रो प्रगति गरेको पाइएको बताउनुभयो ।

भूकम्पका कारण घरबार गुमाएका परिवारका छोरीहरुलाई पूर्ण छात्रवृत्ति दिएर पढ्ने वातावरण दिनु नै ठूलो कुरा भएको उनीहरुको भनाई थियो । जाजरकोट खलंगास्थित भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले भूकम्पका कारण पीडित बनेका परिवारका बालिकाहरुलाई छात्रवृत्ति कार्यक्रमले ठूलो सहयोग पुर्याएको बताउनुभयो । भूकम्पका कारण कापी किताब किन्न नसक्ने अवस्थाका पीडित बालिकाहरुलाई छात्रवृत्ति दिएर फाउण्डेसनले ठूलो सहयोग गरेको प्रति कृतज्ञता प्रकट गर्दै उहाँले उक्त कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन सुझाउनुभयो ।

जाजरकोट नलगाड नगरपालिका कक्षा ८ मा अध्ययनरत छात्रा गंगा विकले छात्रवृत्तिका कारण आफ्नो पढ्ने वातावरण बनेको जनाउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पका कारण शरीरमा लगाउने कपडा थिएन । यस्तोमा पढ्ने सपना पढ्ने सपना झन् परको कुरा भयो । यद्यपि फाउण्डेसनले सहयोग गरेपछि पढाई निरन्तर छ । राम्रो अंक ल्याएर उत्तीर्ण पनि भएकी छु । अहिले त्यस्तो समस्या पनि छैन ।”

प्रतिकृया दिनुहोस्