OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १०, २०८१
१३२ पटक

१० पुस २०८१, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लगानी बोर्ड नेपालालाई लगानीमैत्री कानून निर्माण गर्न आग्रह गर्नुभएको छ ।

लगानी बोर्ड नेपालको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज देखि सुरु भएको ‘सार्वजनिक नीजि साझेदारी सम्बन्धी प्रादेशिक छलफल’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले लगानीमैत्री कानून निर्माणले मात्र कर्णाली जस्ता अपार संभावना भएका क्षेत्रको सम्बोधन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीको समृद्धि र विकासले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउँछ यद्यपि यसका लागि लगानी आवश्यक छ ।”

सरकारी लगानीमा नै विभेद भएको भन्दै मुख्यमन्त्री कँडेलले विगतको निरन्तरतालाई कायम नराखी विकासमा क्रम भंगता हुनुपर्नेमा जोड दिनुभयो । लगानी बोर्डमार्फत संघीय सरकारलाई कर्णालीमा न्यूनतम पूर्वाधार विकासका काम गर्न अनुरोध गर्दै उहाँले भन्नुभयो, “जुम्ला तथा मुगु रारा जोड्ने कर्णाली लोकमार्ग, हुम्ला जोड्ने कर्णाली करिडोर र डोल्पा जोड्ने भेरी करिडोरसहित हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न सकिएमा नीजि क्षेत्र आफै लगानी गर्न आउँछन् । यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्दछ ।”

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबबिक्रम शाहले कर्णालीको विकास र समृद्धिका लागि सार्वजनिक नीजि साझेदारी मोडेलमा जान अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा जलविद्युत मात्र २२ हजार मेगावट उत्पादन गर्ने क्षमता छ । पर्यटन, जडिबुटीलगायतका थुप्रै संभावनालाई अवसरमा बदल्न लगानी आवश्यक छ ।” मन्त्री शाहका अनुसार प्रदेश सरकार वित्तिय अनुशासन कायम र कार्यान्वयमा कटिवद्ध रहेको छ ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले संभावना धेरै हुँदाहुँदै विकासमा पछि परेको प्रदेशलको विकासलाई प्राथमिकता राखेर लागनी बोर्डले कार्य थाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका लागि वार्षिक रु.२० खर्ब लगानी गर्न आवश्यक छ । यसका लागि तीनवटै सरकारको स्रोत तथा साधन व्यवस्थापनका साथै समन्वय सहकार्य हुन जरुरी छ ।”

रु.छ अर्ब भन्दा माथिका परियोजनामा लगानी बोर्डले लगानी गर्ने र त्यसभन्दा मुनिका आयोजनाहरु सम्बन्धित मन्त्रालय तथा विभागले हेर्ने भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञावलीले प्रदेश तथा स्थानीय तहका आयोजना सार्वजनिक नीजि साझेदारी गर्न लगानी बोर्डले सहयोग गर्ने जनाउनुभयो । बोर्ड लागनीको वातावरण सुधारमा लागेका जनाउनुभएका भएका उहाँले लगानीमैत्री कानून र वातावरण दुवै निर्माणमा लागि परेको बताउनुभयो ।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलगायतले कर्णालीको विकास र समृद्धिको गन्तव्यमा पुग्ने यात्रामा कही कतै अन्यौलमा बस्न नहुने उल्लेख गर्नुभयो । प्रादेशिक छलफल भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्