७ भदौ २०८१, शुक्रबार
मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । यही भदौ २३ गते हुने दीक्षान्त समारोहका लागि प्रतिष्ठानले तयारी थालेको छ ।
स्थापनाकालको १३ वर्षपछि पहिलो पटक दीक्षान्त समारोह हुन थालेको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो । समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आईसकेकोले त्यसको तयारीमा जुटेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनका लागि योग्य छन् ।
उपकुलपति डा.रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपति समक्ष पत्र पठाएका थियौं । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार विहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौं ।”
उपकुलपति डा.रावलका अनुसार प्रतिष्ठानबाट अहिलेसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ उत्तीर्ण विद्यार्थीहरुलाई दीक्षित गरिनेछ । करिब डेढ दशकपछि पहिलो पटक ऐतिहासिक दीक्षान्त समारोह गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कुल ५६ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
उक्त दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसंगै सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सहभागिता हुनेछ । सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ) र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
समारोहमा विश्व स्वास्थ्य संगठनको सहयोगमा ईलोक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । बरिष्ठ आँखा विशेषज्ञ डा.सन्दुक रुईत, विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवसमेत समारोहमा सहभागी हुने जनाइएको छ ।