१९ बैशाख २०८१, बुधबार
कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा भोलिदेखि तीन दिनसम्म ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ हुने भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तरगतका दशवटै जिल्ला कार्यालयहरुमा यही बैशाख २०–२२ गतेसम्म ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ गर्न थालिएका हो । कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीहरुबीच वस्तु तथा सेवाको उत्पादन, सोको गुणस्तर उत्पादित परिमाणका बारेमा सरोकारवाला सबैलाई सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने मूल उद्देश्यले प्रतियोगिता गर्न थालिएको उद्योग तथा उपभोग हित संरक्षण निर्देशनालय सुर्खेतका निमित्त निर्देशक मुकुन्दनाथ योगीले राससलाई जानकारी दिनुभयो ।
“कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने प्रतियोगितामा मात्रै उपत्यकाका २८ र उपत्यका बाहिर गरेर ५७ उद्योग प्रदर्शनीमा भाग लिने छन्,” निर्देशक योगीले भन्नुभयो, “प्रदर्शनीमा भाग लिने उद्योगीहरुलाई अवलोकनकर्ताहरुले छनोट गर्नेछन् । उनीहरुले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमश रु.४०, २० र ३० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।”
प्रतियोगिता सञ्चालन गर्न निर्देशनालयका लागि रु.तीन र जिल्ला कार्यालयहरुका निम्ति रु.दुई लाख रकम विनियोजन गरिएको उहाँले जनाउनुभयो । निर्देशक योगीका अनुसार उक्त प्रतियोगितामा दुना टपरी, खाद्य प्रशोधन, वैकल्पिक उर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य उद्योगहरुको सहभागिता रहनेछ ।
उद्योगहरुले आफ्नो उत्पादन निःशुल्क प्रदर्शनी गर्न पाउनेछन् । निर्देशनालयले वीरेन्द्रनगरबाहेक प्रतियोगितामा भाग लिन बाहिरबाट आउने उद्योगीहरुलाई दैनिक खाना, खाजा र बासवापत रु.सात सय, आउन जान प्रचलित दररेट अनुसारको भाडा रकम र समान ढुवानीवापत रु.एक हजार दिने व्यवस्था गरेको छ ।
प्रतियोगितामा सरकारी निकाय, उद्योग, बाणिज्य तथा उपभोक्ता हित क्षेत्रका सरोकारवाला सबै, गैह्र सरकारी संघ÷संस्था, सम्बन्धित क्षेत्रका प्राविधिक शिक्षालयहरु, सहकारी संस्था, नीजि क्षेत्र, पत्रकार सञ्चारकर्मी र आम सर्वसाधारण सबैको उपस्थिति रहने जनाईएको छ ।