OnlinePana

आज : २०८३ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०८०सुर्खेत
३३५ पटक

 ७ फागुन २०८०, सोमबार

कर्णालीमा तेस्रो प्रदेश तथा १४औ राष्ट्रपनि रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

कर्णाली खेलकुद विकास परिषद् सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले खेलकुद विकासमा महत्व दिइएको बताउनुभयो । उहाँले खेलको विकास एवं व्यवस्थापनका लागि पूर्वाधारका बारेमा नीति निर्माताले बुझ्न आवश्यक जनाउनुभयो ।

“कर्णालीलाई खेलकुदबाट अन्तर्राष्ट्रियस्तरमा कसरी चिनाउने भन्ने चिन्ता आजको युवामा हुनुपर्छ,” उहाँले भन्नुभयो, “आगामी मंसिर २ गतेदेखि सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई केन्द्रमा राखेर योग्य टोली तयार गर्नुहोस् ।” उहाँले खेलको समयमा कर्णाली प्रदेश सरकारले हरेक दिन प्रतिदिन रु.दुई हजार भत्ता दिने व्यवस्था गरेको समेत बताउनुभयो ।

एमालेका नेता यामलाल कँडेलले कर्णाली प्रदेश खेलकुद विकास परिषदसँग सीप र दक्षता हुँदा पनि बजेट अभाव रहेको बताउनुभयो । खेल क्षेत्रको संभाव्य भूमि कर्णाली प्रदेश भएको बताउँदै नेता कँडेलले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्नेमात्रै नभई सातै प्रदेशलाई जित्ने तवरले अभ्यस्त हुन अनुरोध गर्नुभयो ।

उक्त उद्घाटन कर्णालीका स्थानीय तहले खेल क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश खेलकुद परिषद्ले भलिबलको माला लगाएर सम्मान गरेको थियो । सम्मानित हुनेमा पश्चिमरुकुमको सानीभेरी, सुर्खेतको चौकुने, दैलेखको ठाँटीकाध गाउँपालिका, जुम्लाको तातोपानी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका रहेका छन् ।

त्यस्तै हुम्लाको खार्पुनाथ, सल्यानको कपुरकोट र मुगुको सोरु गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी र जाजरकोटको छेडागाँड नगरपालिका रहेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । प्रतियोगितामा कर्णालीका १० वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्