OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ६, २०८०सुर्खेत
१२३ पटक

६ फागुन २०८०, आइतबार

कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले राष्ट्रिय समाचार समितिको विश्वसनीयता र क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिको ६३औं वार्षिकोत्सवको अवसरमा रासस कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतद्वारा आज आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जिसीले सरकारका कमीकमजोरीलाई पनि राससले रचानात्मक आलोचनाका रुपमा प्रकाशमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।

राससको सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएका उहाँले भन्नुभयो, “भ्रष्टाचार, बेथिति र अनियमितताका विरुद्धका समाचार निष्पक्ष ल्याउनै पर्दछ । राससले प्रविधिको विकाससँगै हालको अवस्था हेरेर आफ्नो सेवा विस्तार गरेर लैजानुपर्दछ ।”

बजेटको शीर्षक संशोधनमा नीतिगत जटिलता भएकोले कर्णालीका मिडिया आवश्यक सहयोग गर्न समस्या भएको उहाँको भनाई थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले जाजरकोट भूकम्पको बेला अनलाईनहरुलाई राससले निःशुल्क सेवा दिएर सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनुभयो ।

केन्द्रीय सदस्य शर्माले भन्नुभयो, “राससले सरकारको गुणात्मक काम मात्र बाहिर ल्याउने नभई कमजोरीहरुमा निर्मम बन्ने गरी आफूलाई पुनःसंरचना गर्नुपर्छ । प्रतिस्पर्धी युगमा प्रविधिको ख्याल गरी समाचार प्रकाशनमा ढिला गर्न हुन्न । यसलाई विश्वासयोग्य र साझा बनाउन सार्वजनिक नीजि साझेदारी मोडेलमा जानुपर्दछ ।”

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सचिव दीपक बुढाले लामो इतिहास बोकेको राससको बिरासत कायमका लागि प्रदेश सरकारसहित स्थानीय तह पनि यसको ग्राहक बन्नुपर्नेमा जोड दिनुभयो । संघीयता पछि राससले आफुलाई विकास गर्दै लगेको उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले विद्यार्थी कालदेखि राससबारे बुझेको बताउँदै रासस समाचारको आधिकारिक स्रोत भएको बताउनुभयो । माथिल्लो ओहोदामा रहेकाहरुको मात्र नभई भूँइ मान्छेहरुको कथा लेखनमा जोड दिनुपर्ने सुझाउँदै उहाँले पछिल्लो राससमा उर्जाशील टोली आएको टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्