१२ माघ २०८०, शनिबार
कर्णाली प्रदेश सरकारले विपद् जोखिम दुर्घटना बीमावापत् रु.तीन करोड ५८ लाख रकम भुक्तानी गरिएको छ ।
प्रदेश सरकारले विसं.२०७९ पुस ९ देखि यही माघ ९ गतेसम्म एकसय ७१ जना मृतकका परिवारलाई रु.तीन करोड ५८ लाख दुर्घटना बीमाको रकम उपलब्ध गराएको हो । प्रति व्यक्ति रु.दुई लाखका दरले मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
पदभार ग्रहण गरेको एक वर्षको अवसरमा पत्रकार भेटघाट कार्यक्रममार्फत बिहीबार सम्पादित कामबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका एक सय ५१ मध्ये एक सय ४२ परिवारलाई पालिकामै पुगेर बीमा रकम प्रदान गरिएको छ । छ जनाको प्रक्रियामा रहेको तर रोल्पा, दाङ र बर्दियाका तीनको कागज अपुग हुँदा भुक्तानी प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।” हिमपात, बाढी, पहिरो, चट्याङ, आगलागी जस्ता विपद्मा परेका ३७ मृतकका परिवारलाई पनि बीमा रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
त्यस्तै, कर्णाली प्रदेश सरकारको विसं.२०८० कार्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भूकम्प प्रभावित जिल्ला जाजरकोटका सात, रुकुमपश्चिमका छ र सल्यानका तीन स्थानीय तहमा रु.दुई करोड ४५ लाख र कर्णाली प्रदेशको विपद् व्यवस्थापन कोषबाट यहाँका दश जिल्ला विपद् व्यवस्थापन कोषमा एकमुष्ट रु.पाँच करोड पठाइएको मन्त्री जिसीले जनाउनुभयो ।
त्यस्तै, कर्णाली प्रदेशका ६६ पालिकामार्फत दुई हजार ८३ सहिद र एक हजार चार सय २९ घाईतेलाई रु.आठ करोड ८२ लाख ८८ हजार द्वन्द्वपीडित घाईते अपाङ्गता तथा सहिद स्मृति भत्ता वितरण तथा एक सय ७७ व्यक्तिको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको उहाँको भनाई छ । यो अवधिमा मन्त्रालयले १४ कार्यविधि निर्देशिका तथा मापदण्ड निर्माण, ३६ वटा कानून प्रदेश राजपत्रमा प्रकाशन र ४० वटा कानूनी विषयमा सहमति प्रदान गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश सरकारबाट रु.एक÷एक करोड, लुम्बिनी प्रदेशबाट रु.एक करोड ५० लाख, एनसेलबाट रु.५० लाख, शिखर ईन्स्योरेन्सबाट रु.११ र इसिमोडबाट रु.१० लाख, ब्याकवार्ड सोसाईटी एजुकेशनबाट रु.एक लाख छ हजार आठ सय २०, माओवादी केन्द्र संसदीय दलबाट रु.एक लाख र धनबहादुर कठायतलगायको कृषि ग्र्याजुएट १९९८÷२००२÷३ बाट रु.७० हजार गरी रु.चार करोड २३ लाख ७६ हजार आठ सय २० रकम प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको छ ।
दुर्गम हिमाली जिल्लामा हुम्ला र जुम्लाको पत्रकार महासंघ भवन निर्माणका लागि रु.३०÷३० लाख बजेट निकासा, ९३ मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन, रु.पाँच लाख पत्रकारिता स्नातकोत्तर छात्रवृति, पाँच लाख पत्रकार कल्याण कोष र रु.५० हजारका दरले छ जनालाई प्रादेशिक पत्रकारिता प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्रदेशभित्रका विभिन्न प्रहरी भवनका लागि रु.चार करोड ५६ लाख, जिल्ला कारागार हुम्लाको लागि रु.४८ लाख ५२ हजार र सशस्त्र प्रहरी भवन सुधारका लागि रु.२० लाख रकम अख्तियारी दिएको बताउँदै मन्त्री जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जमा रहको कर्णाली प्रदेश सुरक्षा गणलाई सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थानान्तरणका लागि रु. एक करोड ९१ लख २९ हजार आठ सय ६४ रकम अख्तियारी प्रदान गरिएको उहाँले जनाउनुभयो ।
मन्त्री जिसीले प्रदेशको प्रवेशद्वार बबईमा डिजिटल प्रविधि सुरु गरिएको जनाउँदै आउँदो फागुनमा डिजिटल कर्णाली कन्केलेभ गर्ने बताउनुभयो । चालु आव.को कुल रु.३४ करोड ४७ लाख २१ हजार बजेटमा रु.सात करोड ८८ लाख ३१ हजार ९० अर्थात २२ दशमलव ८६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।