११ माघ २०८०, बिहीबार
कर्णाली प्रदेशमा आज सम्पन्न राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् ।
सत्ता गठबन्धनबाट दलिततर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक (कालीकोट), महिलातर्फ सावित्री मल्ल (दैलेख) र अन्य कलष्टरमा कृष्णबहादुर रोकाय (रुकुमपश्चिम) विजयी भएको सहायक निर्वाचत अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिनुभयो । उहाँका अनुसार विजयी उम्मेदवारहरुमा दलिततर्फका विकले तीन हजार आठ १७ मतभार प्राप्त गर्नुभएको हो । उहाँका प्रत्यासी नेकपा एमालेका हिक्मत विकले एक हजार दुई सय ६७ मत पाउनुभयो ।
त्यस्तै, महिलातर्फ समाजवादीका मल्लले तीन हजार सात सय २२ मतभार प्राप्त गरी विजय हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी बिमलाकुमारी शाहीले एक हजार तीन सय ६२ मतभार प्राप्त गर्नुभयो । अन्य कलष्टरतर्फ तीन हजार आठ सय ७० प्राप्त गरी काँग्रेसका रोकाय विजय हुँदा नेकपा एमालेका भट्टले एक हजार दुई सय १४ मतभार प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत रावले बताउनुभयो ।
अधिकृत रावलका अनुसार कर्णालीमा आज सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा ४० प्रदेशसभा सदस्य र एक सय ५६ स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरुले मतदान गरेका थिए । मत शतप्रतिशत खसेको थियो भने बदर कुनै मत भएन ।
निर्वाचनमा प्रति प्रदेशसभा सदस्यको ५३ र स्थानीय तह प्रति मतदाताको १९ मतभार रहेको थियो । दुवै मतभारलाई गणना गर्दा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।