OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०८०सुर्खेत
१६८ पटक

२० पुस २०८०, शुक्रबार

कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बोर्ड विकासले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा आज वीरेन्द्रनगरमा गरेको ‘चिया तथा कफी खेती प्रवद्र्धनका लागि प्रदेशस्तरीय अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले गर्नुभएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले कर्णाली चिया र कफी खेतीका लागि प्रचुर संभावनायुक्त प्रदेश हुँदाहुँदै यहाँ अहिलेसम्म राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय स्थापना हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो । “आर्थिक हिसाबले निकै महत्व बोकेको चिया तथा कफी खेती अहिलेसम्म व्यवसायिक तवरबाट हुन सकेको छैन,” उहाँले भन्नुभयो, “अब यसको खेतीका लागि प्रदेश सरकारले नीतिगत रुपमै प्राथमिकतामा राख्छ ।”

प्रदेश सरकारले संगठन तथा व्यवस्थापन थालेको बताउँदै मन्त्री शर्माले यसको खेती प्रवद्र्धनका लागि विकास बोर्डलाई प्राविधिक जनशक्ति उपलब्ध गराउन अनुरोध गर्नुभयो । कर्णालीले अहिलेसम्म बिक्री गर्दै आएका कृषि उपजहरु सबै मूल्यवान रहेको र यहाँका किसानहरुले थोरै बेचेर धेरै आम्दानी लिने गरेको समेत उहाँले दावी गर्नुभयो ।

कर्णाली प्रदेशसभा सदस्यद्वय विन्दमान विष्ट र घनश्याम भण्डारीले सबै प्रदेशमा चिया तथा कफीको विकास बोर्ड कार्यालय स्थापना, उत्पादन तथा बजारीकरणका काम भईरहँदा कर्णालीमा यसको खेती कसरी गर्ने भन्ने छलफलले यो प्रदेशप्रति राज्यको दृष्टिकोण कमजोर रहेको टिप्पणी गर्नुभयो । बराहताल गाउँपालिका ३ सुर्खेतका कफी कृषक मोहनकुमार आचार्यले प्राविधिक ज्ञान नहुँदा लगाएको कफी मास्नु परेको र फलेको कफी पनि बिक्री नभएको दुखेसो पोख्नुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.बिष्णुप्रसाद भट्टराईले कर्णाली चिया र कफीको अत्यन्तै सम्भावनाको प्रदेश भएको बताउनुभयो । “सल्यान नेपालकै चियामा ठूलो संभावना भएको जिल्ला हो जुन कर्णालीमै पर्छ,” उहाँले भन्नुभयो, “अब यसको खेतीमा जोड दिन सबै स्थानीय तहको अग्रसरता, प्रदेश तथा संघ सरकारको समन्वय एवं सहयोग आवश्यक छ ।”

छलफलको क्रममा चिया तथा कफी विकास बोर्ड कार्यालय प्यूठानका प्रमुख सिपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि निकै उपयुक्त रहेको भन्दै उत्पादनयोग्य भूमिको क्षेत्रफल, संभावना भएका पालिका, जमीनको झुकाव, त्यसका लागि आवश्यक तापक्रमलगायतका तथ्याङ्कसहितको प्रस्तुति राख्नुभयो ।

सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतका सचिव तुलारम सिंजालीले चिया तथा कफी खेतीसम्बन्धीको कुनैपनि ज्ञान, सीप र जनशक्ति नहुँदा किसानले उत्पादनलाई खेर जान नदिने आफूहरुले खरिद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कफी धेरै बिक्री हुने वस्तु भएकोले यसको उत्पादन तथा प्रवद्र्धनमा जोड दिनुपर्छ यद्यपि प्राविधिक ज्ञानसहितको जनशक्ति उपलब्ध हुनुपर्दछ ।”

उक्त अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले कर्णालीमा चिया तथा कफी विकास बोर्डको कार्यालय स्थापना हुनुपर्ने, किसानहरुलाई चिया र कफी खेतीसम्बन्धी तालिम दिनुपर्ने, प्रदेश सरकार तथा स्थानीय तहले प्राविधिक जनशक्ति र यसको खेती प्रवद्र्धनमा जोड दिनुपर्ने मागसहितको सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्