१९ पुस २०८०, बिहीबार
मुलुकको विकास, समृद्धि र समाज रुपान्तरणका लागि पत्रकारितामा विज्ञता आवश्यक भएको बताईएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले वीरेन्द्रनगर सुर्खेतमा पुस १८–१९ गतेसम्म सञ्चालन गरेको ‘खेलकुद पत्रकारितासम्बन्धी दुई दिने तालिम’का प्रशिक्षकहरुले मुलुक र जनताको पक्षमा कलम चलाउनेहरु दक्ष एवं सक्षम हुनुपर्नेमा जोड दिनुभएको हो । तालिमका मुख्य प्रशिक्षक पवन आचार्यले सबै क्षेत्रमा कलम चलाउँदा सामान्य जानकारी भएपनि विट पत्रकारिताले मात्र विज्ञता हाँसिल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जसले जहाँ जति खेर जस्तोसुकै तरिकाले कलम चलाउँदा पत्रकार भईन्छ भन्ने भ्रम त्याग्नुहोस् । कुनैपनि कुराको गहिरो खोज तथा अध्ययन गरेर विषयवस्तु बाहिर ल्याउनुहोस् जुन कुराले समाज र तपाईको व्यक्तित्व विकासमा सहयोग पुगोस् ।” मुख्य प्रशिक्षक आचार्यले कर्मप्रति विश्वास, निरन्तर लगाव र व्यवहारिक अभ्यास गर्ने जो कोहीले आफ्नो पेशालाई जीवन्त राख्न सक्ने जिकिर गर्नुभयो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सञ्चालन गरेको खेलकुद पत्रकारिताले विधागत पत्रकारितामा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कर्णालीले राष्ट्रलाई विश्वमा चिनाउने जनशक्ति उत्पादन गरेको दावी गर्दै उहाँले आगामी वर्ष दशौं राष्ट्रिय खेल प्रतियोगिताको आयोजक प्रदेश कर्णाली भएकोले यसको भव्य सम्पन्नताका लागि पनि पत्रकारहरुको अहम् भूमिका हुने अपेक्षा गरिएको बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा प्रशिक्षकहरु क्रमशः पवन आचार्यले खेल रिपोर्टिङको आधारभूत सिद्धान्त, लेखन विधि र अन्तरर्वाता सीप तथा रणनीति, भानुभक्त अधिकारीले प्रदेशका खेल क्षेत्रका सवाल, चुनौति र अबको बाटो, प्रकाश तिमिल्सिनाले खेल रिपोर्टिङ र त्यसका प्रकार तथा सुवास हुमागाईंले मल्टिमिडिया, क्रिकेट, यसमा प्रयोग हुने प्राविधिक शब्दावली र अर्थका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
महासंघका प्रदेश समिति अध्यक्ष देवीराम देवीराम देवकोटाले कर्णालीमा पहिलो पटक सञ्चालन भएको ‘खेल पत्रकारिता सम्बन्धीको तालिम’ले यस क्षेत्रको रिर्पोटिङ्मा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा यहाँका ६० पत्रकारहरु सहभागी भएका थिए ।