१४ पुस २०८०, आईतबार
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
कर्णाली प्रदेशलगायत स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँले सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले विविध धर्म र संस्कृतिको संगमस्थल नेपाली समाजले लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, साँस्कृतिक स्वतन्त्रतालाई अंगिकार गरेको बताउनुभएको छ ।
एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले भन्नुभएको छः “संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो । यस अवसरमा तमु जाति तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपिल गर्दछु ।”
उहाँका अनुसार सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्नो रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको जनाउँदै उहाँले गुरुङ समुदायले विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउदै छन् । यस पर्वको अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरु नाच्दै रमाइलो गर्ने परम्परा रहेको पाइन्छ ।
भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताउँदै उहाँले गुरुङ समुदायको यस पर्वले सम्पूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।